गैरआवासीय नेपाली संघको महासचिवमा चिरन्जीवी खड्काले उम्मेदवारी दिने भएका छन्।
गैरआवासीय नेपाली संघको यूरोप संयोजक रहेका खड्काले संघको मार्च महिनामा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सो पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
हाल चेक गणतन्त्रको विज्ञान प्रतिष्ठान अन्तर्गत ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा वैज्ञानिक (एकेडेमी अफ साइन्स) का रूपमा कार्यरत खड्काले प्राकृतिक स्रोत व्यवस्थापन, समाजशास्त्र तथा अन्तर्राष्ट्रिय वन विज्ञानका क्षेत्रमा उच्च शैक्षिक योग्यता हासिल गरेका छन्।
उनीसँग एडिबी, वर्ल्ड बैंकद्वारा सञ्चालित परियोजना लगायत संयुक्त राष्ट्र अन्तर्गतका विभिन्न एजेन्सीहरूमा काम गरेको अनुभव छ।
खड्काले सन् २०१२ मा अस्ट्रियाको भियनास्थित युनिभर्सिटी अफ नेचुरल रिसोर्सेस एन्ड लाइफ साइन्सेस-बोकु विश्वविद्यालयबाट प्राकृतिक स्रोत व्यवस्थापनमा पिएचडी उपाधि प्राप्त गरेका हुन्। यसअघि सोही विश्वविद्यालयबाट सन् २००६ मा अन्तर्राष्ट्रिय पर्वतीय वन विज्ञानमा स्नातकोत्तर (मास्टर्स) अध्ययन पूरा गरेका थिए।
उनले नेपालमै रहँदा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पस, ललितपुरबाट सन् २००४ मा समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन्।
यसका साथै त्रिभुवन विश्वविद्यालयकै वन विज्ञान अध्ययन संस्थान, हेटौँडाबाट सन् १९९७ देखि २००० सम्म सामान्य वन विज्ञानमा स्नातक (बीएस्सी) र नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौंबाट सन् १९९५ देखि १९९८ सम्म वाणिज्यशास्त्रमा स्नातक (बीकम) अध्ययन सम्पन्न गरेका छन्।
गैरआवासीय नेपाली संघसँग खड्काको सम्बन्ध सन् २००९ देखि सुरू भएको हो।
सन् २००९–२०११ को अवधिमा अस्ट्रियामा एनआरएनएको साधारण सदस्यका रूपमा सक्रिय रहेका उनी सन् २०१२–२०१४ मा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रियाको अध्यक्ष पदका उम्मेदवार बने। त्यसपछि सन् २०१५–२०१७ सम्म चेक गणतन्त्रस्थित एनआरएनए एनसीसीमा सदस्यका रूपमा कार्यरत खड्का सन् २०१७–२०१९ र २०१९–२०२१ गरी दुई कार्यकाल एनआरएनए एनसिसी चेक गणतन्त्रको अध्यक्ष पदमा निर्वाचित भए।
उनी नेपालका विभिन्न सामजिक संघसंस्थामा सक्रिय छन् भने हाइड्रो लगायतको सामूहिक लगानी परियोजनाहरूमा लगानी गरेका छन्।
गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाडौंस्थित सोल्टी होटलमा हुँदैछ।