गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार उक्त सम्मेलन आगामी अगस्ट १५ र १६ तारिखमा चीनको गन्जाओमा आयोजना हुँदैछ। मन्त्री वाग्ले सो सम्मेलनमा भाग लिन लागेका हुन्।
सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धन, पर्यटन विकास, व्यापार विस्तार तथा प्रविधि क्षेत्रका विषयमा विस्तृत छलफल गरिने कार्यक्रम तय गरिएको छ। साथै, नेपालसँगको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइनेछ।
कँडेलका अनुसार सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका विभिन्न देशहरूबाट गैरआवासीय नेपाली प्रतिनिधि, व्यवसायी, समाजसेवी, युवा तथा महिला नेतृत्वको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा लगानी, पर्यटन, व्यापार, प्रविधि, युवा सहभागिता तथा नेपालसँगको आर्थिक र सामाजिक सम्बन्ध सुदृढीकरणका विषयमा विशेष छलफल गरिनेछ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा हेमराज शर्मा, संघका पदाधिकारीहरू, एसिया–प्यासिफिक क्षेत्रअन्तर्गतका १३ देशका प्रतिनिधिहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, संघका केन्द्रीय पदाधिकारी तथा व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू, संस्थापक सदस्यहरू तथा पत्रकारसहित करिब ५ सय जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ।
उक्त सम्मेलनमा पर्यटनमन्त्री खडकराज पौडेललाई समेत आमन्त्रण गरिएको छ।