गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गतको कन्टिन्युटी अफ नेपाली सिटिजनसिप (सीएनसी) टास्क फोर्सले एनआरएन नागरिकताको वर्तमान अवस्था सम्बन्धी पहिलो वेबिनार आयोजना गर्ने भएको छ।
जुन २१ मा नेपाल समयअनुसार साँझ ५ बजे जुम तथा एनआरएनए आधिकारिक फेसबुक लाइभमार्फत हुने वेबिनारमा एनआरएन नागरिकताको कार्यान्वयन अवस्था, देखिएका चुनौती, कानुनी जटिलता तथा आगामी सम्भावनाबारे छलफल गरिने जनाइएको छ।
एनआरएनए आइसिसीकी उपाध्यक्ष तथा सिएनसी टास्क फोर्सकी अध्यक्ष रोजिना प्रधान राईले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई कार्यक्रममा सहभागी भई जानकारी हासिल गर्न र आफ्ना धारणा राख्न आग्रह गरेकी छन्।
‘नेपाली नागरिकताको निरन्तरता र वंशज नागरिकताको अधिकार गैरआवासीय नेपालीहरूको प्रमुख चासोको विषय रहेको छ,’ उनले भनिन्, ‘एक पटकको नेपाली, सधैंको नेपाल भन्ने मूल भावनासहित यस विषयमा निरन्तर पहल भइरहेको छ।’