गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानमा आयोजित नेपाल फेस्टिभलका क्रममा सार्वजनिक स्थानमा भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गरेको छ।
संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महिलामाथि हुने कुनै पनि प्रकारको अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा अमर्यादित गतिविधिप्रति आफ्नो शून्य सहनशीलताको नीति रहेको जनाएको छ।
एनआरएनएले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनअनुसार आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संघले विदेशमा नेपालीहरूको व्यवहारले व्यक्तिगत पहिचान मात्र नभई नेपाल र नेपाली समुदायको छवि पनि प्रतिनिधित्व गर्ने भएकाले सबैलाई जिम्मेवार र मर्यादित व्यवहार गर्न आग्रह गरेको छ।
एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जारी गरेको विज्ञप्तिमा आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्दै महिलाको सम्मान, सुरक्षा र मर्यादाप्रति प्रतिबद्ध रहन सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरिएको छ।
यसैबिच गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को महिला विभागले जापानमा सम्पन्न नेपाल फेस्टिभलका क्रममा महिला नेतामाथि भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
महिला विभागकी प्रमुख एवम् उपाध्यक्ष राधिका गुरुङ (टिका) ले जुलाई १८ देखि २० सम्म टोकियोको कार्यक्रममा एनआरएनए एसिया–प्यासिफिक क्षेत्रकी क्षेत्रीय महिला संयोजक सङ्गीता सुवेदी अधिकारीमाथि भएको दुःखद घटनाप्रति महिला विभाग तथा सम्पूर्ण एनआरएनए परिवारले गहिरो दुःख व्यक्त गरेकी छन्।
‘महिलामाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार, हिंसा, उत्पीडन वा विभेद सभ्य समाजका लागि अस्वीकार्य रहन्छ।साथै, पीडित पक्ष कानुनी प्रक्रियामा प्रवेश गरिसकेको जानकारी प्राप्त भएकाले सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।
महिला विभागले महिला हिंसा, यौन दुर्व्यवहार, उत्पीडन तथा कुनै पनि प्रकारका लैङ्गिक विभेदप्रति शून्य सहनशीलताको नीति प्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ। महिला अधिकार, सम्मान, सुरक्षा र गरिमाको संरक्षणमा कुनै पनि सम्झौता हुन नसक्ने विभागको भनाइ छ।