विदेशमा २६ वर्ष बिताएका चन्द्र केसीलाई एक दिन लाग्यो— अब पैसा कमाउनुभन्दा परिवारसँग बस्नु ठूलो कुरा हो।
एघार वर्ष भारत र १५ वर्ष दुबईमा काम गरेका उनको कमाइ राम्रै थियो। तर छोराछोरी हुर्किँदै गएपछि परिवारबाट टाढा बसिरहन उनलाई गाह्रो हुन थाल्यो।
'विदेशमा मलाई कुनै दुःख थिएन र पैसापनि राम्रै हुन्थ्यो,' चन्द्रले भने, 'तर घरपरिवार र छोराछोरीको याद निकै सताउँथ्यो। मैले अहिले उनीहरूलाई समय र माया दिनुपर्छ भन्ने लागेर म फर्किएको हुँ।'
चार वर्षअघि दाङ, तुलसीपुर फर्किनुअघि उनले आफ्नै गाउँठाउँमा कफी हाउस खोल्ने योजना बनाएका थिए। दुबईमा हुँदा धेरै कफी हाउस चहारेकाले उनले यस्तो सोचेका थिए। तर तुलसीपुरमा कफीको व्यापारमा खासै सम्भावना देखेनन्।
बरू उनको ध्यान रेस्टुरेन्टमा गयो। उनले तुलसीपुर–६ डिल्ली बजारमा ससुरालीको खाली जग्गामा रेस्टुरेन्ट खोल्ने निधो गरे।
झन्डै एक कट्ठा जमिनमा चन्द्रले २९ लाख रुपैयाँ खर्चेर 'मिट एन्ट इट' बनाए।
उनले तन्दुरीबाट व्यापार थालेका थिए। तर गाउँघरमा तन्दुरी सोचेजस्तो चलेन। त्यसपछि ग्राहकको रुचिअनुसार फ्राइड राइस, चिकेन चिल्ली, चाउमिन, मःम र बिरयानी बनाउन थाले। जन्मदिन, विवाह वर्षगाँठ जस्ता विभिन्न अवसर तथा उत्सवका लागि खानेकुराको अर्डर पनि आउन थाल्यो।
पछि उनले लोकल भाले र खसीको परिकार पनि थपे।
'अहिले महिनामा कम्तीमा तीन लाख रुपैयाँको कारोबार हुन्छ,' चन्द्रले भने, 'सबै खर्च कटाएर पचास–साठी हजार रूपैयाँ बच्छ।'
अब बाँकी जीवन आफ्नै ठाउँमा यसैगरी काम गर्दै घरपरिवार र आफन्तसँगै बिताउने चाहना रहेको उनी बताउँछन्।
चन्द्रको विदेश १५ वर्षको उमेरमा सुरू भएको हो। कक्षा ८ मा पढ्दै गर्दा उनी भागेर साथीहरूसँग भारतको चण्डीगढ पुगे। खिद्रिमिद्री काम गर्दै ११ वर्ष भारत बसिसक्दा उनी फलफूल व्यापारीसम्म भए। व्यापार राम्रो थियो।
फर्किएपछि गाउँकै जानकी भण्डारीसँग २०५८ सालमा प्रेमविवाह गरे। बिहेपछि जानकीलाई पनि लिएर गए।
थप केही वर्ष चण्डीगढमा बिताएपछि उनले दुबई जाने निधो गरे।
चन्द्र सन् २००७ मा दुबई पुगे र एउटै कम्पनीमा लगातार १५ वर्ष सिनियर सुरक्षा गार्डका रूपमा काम गरे। छोराछोरी हुर्किँदै जाँदा उनलाई परिवारसँगै बस्नुपर्छ भन्ने लाग्यो।
'त्यसैले अब विदेश नगई रेस्टुरेन्ट विस्तार गर्ने र भविष्यमा बजारमा पनि शाखा खोल्ने योजना छ,' ४४ वर्षीय उनले भने।
हाल रेस्टुरेन्टमा एक जना कुक र एक जना हेल्पर छन्। सर्भिस लगायत अरू काममा चन्द्र, उनका १८ वर्षीय छोरा अमित खट्छन्।
कुकलाई सहयोग गर्दागर्दै चन्द्र आफै पनि खाना बनाउन सक्ने भएका छन्।
रेस्टुरेन्टमा उनले प्रोजेक्टर पनि राखेका छन्। ठूला खेल हुँदा रेस्टुरेन्ट रातिसम्म खुला रहन्छ। कारोबार पनि बढ्छ।
चन्द्र आफै फुटबलका पारखी हुन्। उनका ६ दाजुभाइ नै फुटबल खेल्थे। अहिले पनि उनी खेल हेर्न रूचाउँछन्।
'कोही छैन भने पनि हामी बाबुछोरा रातभर गेमहरू हेर्छौं,' चन्द्रले भने, 'छोरा पनि खेलकुद एकदमै मन पराउँछ। ऊ क्रिकेट खेल्छ। उसको र मेरो कुरा एकदमै मिल्छ।'
रेस्टुरेन्ट सञ्चालन चुनौतीरहित हुँदैन। त्यसैले राम्रो सडक र सुरक्षा व्यवस्था थप मजबुत भइदिए अझ राम्रो हुने उनको बुझाइ छ।
त्यस्तै साना व्यवसायीका लागि कर तिर्ने प्रक्रिया पनि सहज र एकद्वार प्रणालीमा हुनुपर्ने उनी बताउँछन्।
'विदेशमा खटेर कमाएको पैसाले शून्यबाट यो रेस्टुरेन्ट सुरू गरेको हुँ,' चन्द्रले भने, 'मरी के लानु छ र है! थोरै भए पनि विदेशको भन्दा यहीँको कमाइले जितेको जस्तो लागेको छ।'