गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले बाढी-पहिरो प्रभावितहरूका लागि राहत संकलन अभियान सञ्चालन गरी २० लाख नेपाली रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ।
यो रकम प्रारम्भिक लक्ष्य (करिब १ लाख २० हजार हङकङ डलर) भन्दा बढी हो।
सङ्कलित सम्पूर्ण रकम आउँदो शुक्रबारसम्म एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) मार्फत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने सङ्घले जनाएको छ।
विपदको यस कठिन घडीमा एनआरएनए हङकङ महिला फोरमले सेप्टेम्बर १३ का लागि तय गरेको ‘तीज विशेष कार्यक्रम’ लगायतका सम्पूर्ण मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएको छ।
भविष्यमा आउन सक्ने यस्ता विपद्हरूको तत्काल र प्रभावकारी व्यवस्थापनका लागि हङकङका मुख्य नेपाली संघ-संस्थाहरूको सहकार्यमा एक ‘स्थायी आकस्मिक प्रतिक्रिया समिति’ गठन गर्ने पहल समेत सुरू गरिएको एनआरएनए हङकङकी अध्यक्ष अनु राईले जानकारी दिएकी छन्।