भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको ११औं दिन शनिबार चारतले घरको चौथो तलाबाट एक महिला जीवितै भेटिइन्।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र पनि केही मान्छे जीवित हुन सक्छन् भन्ने आस बढाएको छ।
सँगसँगै, बाढीले थुपारेको लेदोयुक्त माटोको सतहमुनि दबिएका संरचनामा खोजी कार्यलाई उच्च प्राथमिकतासाथ अघि बढाउनुपर्ने खाँचो टड्कारो देखिएको छ।
बाढी गएको यतिका दिनसम्म जमिनमुनि पुरिएका घरभित्र कोही बाँचेका होलान् भन्ने आशा लगभग असम्भवजस्तै देखिएको थियो। त्यही भएर उद्धारको प्राथमिकता र चासो जलविद्युत आयोजनाका सुरूङभित्र थुनिएका श्रमिक/कर्मचारीहरूमा केन्द्रित थियो।
शनिबारको घटना भने बाढीपछिको खोजी र उद्धार अभियानमा अप्रत्यासित बनेर आयो।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बेत्रावतीमा आनन्द श्रेष्ठकी श्रीमती चण्डिका श्रेष्ठलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमा काठमाडौं ल्याइएको छ। अहिले सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।
यो उद्धारको सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको उनी भेटिएको ठाउँ हो।
उनी जमिनमुनि दबिएको चारतले घरको चौथो तलामा फेला परेकी थिइन्।
यो घटनाले अहिलेको खोजी र उद्धार अभियानमा एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ — बाढीपछि माटो र गेग्रानमुनि पुरिएका घर, भवन र अन्य संरचनालाई पनि जीवित मानिसको सम्भावित आश्रय मानेर खोजी गरिएको छ कि छैन?
हामीले यसबारे सशस्त्र प्रहरीबाट बेत्रावतीमा खटिएका फिल्ड कमान्डर इन्स्पेक्टर सुमन बिकसँग कुरा गरेका छौं।
उनले केही दिनयता धेरैको चासो जलविद्युत आयोजनाका सुरूङमा केन्द्रित भए पनि नदी किनारका बस्तीमा पनि खोजी तीव्र रूपमा चलिरहेको बताए।
'नदी किनारका बस्तीमा खोजी जारी छ। अहिले पनि हामी तीव्र गतिमा खोजिरहेका छौं,' उनले शनिबार सेतोपाटीसँग भने, 'आज पाएको सफलता त्यसैको उदाहरण हो।'
बेत्रावतीमा मात्र होइन, नुवाकोटका विभिन्न ६ ठाउँमा इन्स्पेक्टरको नेतृत्वमा टोली खटिएर खोजी कार्य भइरहेको उनले जानकारी दिए।
नुवाकोटतर्फ पर्ने बेत्रावतीका २०/२५ वटा घरमा आफ्नै नेतृत्वमा खोजी गरिएको र त्यसलाई निरन्तरता दिँदै आएको पनि उनले बताए।
'हाम्रो टोलीले घरको भग्नावशेषभित्र मान्छे जीवित रहेको केही संकेत आउँछ कि भनेर भदौ १० गतेयता दिनहुँ दोहोर्याएर 'सर्च' गरिरहेको छ,' उनले भने, 'धेरै घरहरू जमिनमा पुरिएका कारण केही अप्ठ्यारो भने भइरहेको छ।'
उनका अनुसार यहाँ बाढीले बगाएर ल्याएको माटोले पुरिएका घर थुप्रै छन्। जान सकिने जति घरमा निरीक्षण गरिएको छ। भित्र जान नसकिने घरमा पनि प्वालबाट 'भित्र कोही जीवित हुनुहुन्छ भने संकेत गर्नुस्' भनेर कराएको उनले बताए।
'कान छिराएर, टाउको छिराएर, लाइट छिराएर चेक गरिरहेका छौं,' उनले भने।
त्यही क्रममा शनिबार आनन्द श्रेष्ठको घरबाट महिला कराएको आवाज सुनेपछि उद्धार गर्न सफल भएको बिक बताउँछन्।
नदीले पानी मात्रै ल्याएको थिएन
भोटेकोशी–त्रिशूलीमा आएको बाढीलाई केवल पानीको बाढीका रूपमा हेर्न मिल्दैन।
नदीको वेगसँगै ठूलो परिमाणमा बालुवा, माटो, ढुंगा, गेग्रान र अन्य पदार्थ बगेका थिए। यिनै पदार्थ कतिपय ठाउँमा थुप्रिँदा बाढीको स्वरूप पानीबाट बदलिएर बाक्लो, भारी र अत्यन्त विनाशकारी प्रवाहमा परिणत भएको थियो।
यसले घरका ढोका–झ्याल मात्रै थुनेन। कतिपय संरचनाका तल्लाका तल्ला नै माटो र गेग्रानले भरिए।
त्यसैले अहिले सतहमा घर नदेखिनु वा घरको अधिकांश भाग माटोले छोपिनु भनेको त्यहाँभित्र केही छैन भन्ने प्रमाण होइन।
बेत्रावतीको घटनाले कम्तिमा एउटा कुरा प्रमाणित गरेको छ — बाहिरबाट पूरै पुरिएको संरचनाभित्र पनि मानिस बाँच्न सक्ने खाली ठाउँ बाँकी रहन सक्छ।
चण्डिका श्रेष्ठ कुन अवस्थामा, कसरी र कुन संरचनात्मक खाली ठाउँमा १० दिनसम्म बाँच्न सफल भइन् भन्ने विस्तृत विवरणले खोजी र उद्धार रणनीतिका लागि अझ महत्त्वपूर्ण संकेत दिन सक्छ।
'चारतले घरको चौथो तलाबाट निकालिएको छ, जबकि चौथो तलासम्म पूरै लेदोले भरिएको छ। त्यस्तो ठाउँमा जीवित भेटिनु भनेको अझै पनि पूरै पुरिएका त्यस्ता घरभित्र मान्छे फसेका हुन सक्छन् भन्ने आस बढेको छ। त्यस्ता संरचनाभित्र कुनै खाली ठाउँमा मानिसहरू बसेका हुन सक्छन् र ती मानिस अझै जीवित हुन सक्छन् भन्ने आस पनि बढेको छ,' सशस्त्रका डिएसपी थापाले भने।
यो सफलताले बेत्रावती सँगसँगै अन्य ठाउँको खोजी र उद्धारका लागि नयाँ आशाको ढोका खोलेको उनी बताउँछन्।
यसले रसुवाको टिमुरेदेखि नुवाकोटको देवीघाटसम्म नदी किनार पुरिएका बस्तीमा खोजी कार्य तीव्र पार्न रणनीतिक रूपले अघि बढ्नुपर्ने आवश्यकता महसुस गरिएको छ।
यसमा कसरी काम भइरहेको छ?
बेत्रावतीमा खटिएका सशस्त्र प्रहरीका फिल्ड कमान्डर सुमन बिकले पुरिएका घरभित्र मान्छे खोज्न आवश्यकता अनुसार जनशक्ति परिचालन भइरहेको बताएका छन्।
यो काममा धेरै उद्धारकर्तालाई एकैचोटि फिल्डमा खटाउँदा खोजी प्रभावित हुन सक्ने उनको भनाइ छ।
'घरभित्र फसेका मानिस जिउँदै छन् भने उहाँहरूले स–साना संकेत गर्न सक्नुहुन्छ। त्यसैले फिल्डमा धेरै खोजीकर्ता परिचालन गर्नुभन्दा ब्याकअपका रूपमा राखेर आवश्यक परेका बेला परिचालन हुने व्यवस्था गरिएको छ। हामीले माग्ने बित्तिकै थप टोली उपस्थित हुन्छ,' उनले भने।
सह–प्रवक्ता डिएसपी थापाले पनि सुरूङ र जमिनमा आवश्यकता अनुसारकै जनशक्ति परिचालन भइरहेको बताए।
प्रभावित जिल्ला पाँचवटा मात्र भएकाले जनशक्ति अभाव नहुने उनको भनाइ छ।
'हाम्रो फिल्ड सुहाउँदो, माटो सुहाउँदो जनशक्ति हामीसँग छ। प्रविधि भन्ने कुरा सबै पूर्ण हुन्छ भन्ने पनि भएन। विदेशी जनशक्ति पनि हुनुहुन्छ। सुरक्षाको तीनवटै निकाय परिचालित छन्। समन्वय गरेर काम गरिरहेका छौं,' उनले भने।
उनका अनुसार प्रभावित क्षेत्रको सबैतिर जनशक्ति परिचालन भएको छ। र, बराबरी नै परिचालित छ।
यहाँ जनशक्तिका अतिरिक्त कुकुर परिचालन र प्रविधिको प्रयोग पनि सहयोगी हुनसक्ने देखिन्छ।
जमिनमुनि पुरिएका घरमा मानिस छ कि छैन भन्ने कुकुरले सजिलोसँग पत्ता लगाउन सक्छ। त्यस्तै, २०७२ सालको भुइँचालोमा भग्नावशेषमुनि मानिस पुरिएका छन् कि छैनन् भनी मेसिन प्रयोग गरिएको उदाहरण छ। तर लेदोयुक्त माटो भरिएको घरमा मेसिनले प्रभावकारी रूपमा काम गर्छ कि गर्दैन भन्ने प्रश्न महत्त्वपूर्ण छ।
गाडी र कन्टेनर पनि माटोमुनि?
बाढीपछि स्थानीय र सरोकारवालाहरूले अर्को सम्भावनाबारे पनि बताउँदै आएका छन् —
माटोको थुप्रोमुनि गाडी र कन्टेनरहरू पुरिएका हुन सक्छन्। ती गाडी र कन्टेनरमा मान्छे फसेका हुन सक्छन्। कतिपय त जीवितै पनि हुन सक्छन्।
नेपाल–चीन सीमापार वाणिज्य संघले २०० देखि २५० वटा कन्टेनर बगाएको वा पुरिएको अनुमान गरेको छ।
यदि नदीले बस्ती र सडकको सतह नै धेरै फिटसम्म माटो र गेग्रानले ढाकेको छ भने, त्यस सतहमुनि रहेका सवारी साधनको अवस्थाबारे पनि व्यवस्थित खोजी आवश्यक हुन सक्छ।
यो खोजीका लागि कुन ठाउँमा कति गहिरो माटो थुप्रिएको छ र कहाँ कहाँ संरचना पुरिएका छन् भनेर खोजी कार्य तीव्र बनाउनुपर्नेछ।
त्यस्तै, कुन ठाउँमा सवारीसाधन वा अन्य वस्तु पुरिएका छन् भनेर पनि हेर्नुपर्नेछ।
सशस्त्रका डिएसपी थापा कन्टेनरसँगै बगेका वा पुरिएका मानिसहरू जीवित फेला पर्न सक्दैनन् भन्ने अवस्था नभएको बताउँछन्।
'कन्टेनरमा फसेकाहरू जीवित हुन सक्ने कुरा कल्पनाभन्दा बाहिर भए पनि त्यहाँ कुनै जीवन छैन भन्ने अवस्था चाहिँ आजको घटनापछि रहेन,' उनले भने।
'पुरिएको' र 'भत्किएको' एउटै होइन
यो बाढीपछिको खोजीमा छुट्याउनुपर्ने महत्त्वपूर्ण कुरा हो।
भत्किएको संरचना र लेदो माटोले पुरिएको तर संरचना उभिइरहेको भवन एउटै अवस्था होइन।
भत्किएको भवनमा मानिस बाँच्ने सम्भावना संरचनात्मक क्षतिको मात्रा हेरेर मूल्यांकन गर्नुपर्छ। तर भवनको मुख्य संरचना उभिएको छ र बाहिरबाट माटो तथा गेग्रानले छोपिएको छ भने त्यसको भित्र खाली ठाउँ बाँकी हुन सक्छ।
शनिबार चण्डिका श्रेष्ठको उद्धारले यही फरकलाई वास्तबिक घटनामार्फत देखाएको छ।
उनलाई बाढीपछि केही घन्टा होइन, १० दिनपछि जीवित फेला पारिएको हो।
त्यसैले अहिलेको प्रश्न केवल 'कहाँ मानिस हराए?' भन्ने होइन।
प्रश्न यो पनि हो — कहाँ मानिस पुरिएका हुन सक्छन्?
यी दुई प्रश्नबीच ठूलो अन्तर छ।
पहिलो प्रश्नले देखिने भग्नावशेष र परिचित उद्धारस्थलतर्फ लैजान्छ। दोस्रो प्रश्नले नदीले पुरेर सतह नै परिवर्तन गरिदिएका ठाउँतर्फ लैजान्छ।
अब उद्धारको अर्को चरण
बेत्रावतीको घटनाले बाँकी सम्भावित जीवित व्यक्तिको खोजीका लागि नयाँ आशा दिएको छ।
तर यो घटनालाई आधार बनाएर लेदो माटोमुनि सबै ठाउँमा मानिस जीवित छन् भन्न मिल्दैन। १० दिनसम्म जीवित रहनु असाधारण घटना हो र यस्तो सम्भावना संरचना, हावा, पानी, तापक्रम, चोटपटक र अन्य धेरै परिस्थितिमा निर्भर हुन्छ।
तर सम्भावना शून्य छैन भन्ने कुरा बेत्रावतीले देखाइसकेको छ।
त्यसैले अब खोजी तथा उद्धार अभियानले जलविद्युत आयोजनाका सुरूङ र नदीका खुला क्षेत्रसँगै माटोले पुरिएका बहुतले घर; आंशिक रूपमा पुरिएका भवन; संरचनागत रूपमा उभिएका तर बाहिरबाट माटोले छोपिएका घर; पसल, होटल तथा गोदाम; र बाढीको नयाँ सतहमुनि पुरिएका सम्भावित संरचनालाई पनि प्राथमिकता दिँदै खोजीको सूचीमा राख्नुपर्ने देखिन्छ।
यसका लागि स्थानीयको सूचना, बाढीअघि र पछिका ड्रोन तथा स्याटलाइट तस्बिर, भवनको नक्सा, लेदोयुक्त माटोको गहिराइ र संरचनाको अवस्था जोडेर प्राथमिकता निर्धारण गर्न सकिन्छ।
नदीले यसपटक घरहरू मात्रै पुरेको छैन। घर र जमिनबीचको पुरानो सतह नै परिवर्तन गरिदिएको छ। र, त्यही नयाँ सतहमुनि के छ भन्ने प्रश्नको एउटा अप्रत्यासित उत्तर बेत्रावतीमा भेटिइसकेको छ।
अब खोजीको दायरा त्यही सम्भावनासम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्न हो।
***