परदेशीको दसैं
धादिङका राजन दुवाडी परदेश गएपछि लगातार तीन वर्षदेखि परिवारसँग दसैं मनाउन पाएका छैनन्। अघिल्लो पटक दसैंमा बिदा मागेका उनले पाएनन्। बरू तिहारको समयमा नेपाल आइपुगेका थिए।
'नेपालमा दसैं सुरू हुने समयमा यहाँ मेरो कामको मुख्य सिजन हुन्छ। सिजनमा काम छाडेर आउन पाइँदैन,' उनले भने, 'गएको दसैंमा पनि मैले बिदा मागेको थिएँ। मिलेन, तिहारमा चाहिँ पुगेको थिएँ।'
राजन रोजगारीको सिलसिलामा इसराइलमा छन्। उनी सन् २०२४ जनवरी १० मा पर्यटक भिसामा गएका हुन्।
त्यस बेला इसराइलमा युद्ध चर्किएको थियो। त्यहाँ भएका अरू आप्रवासीहरू आफ्नो देश फर्किरहेको अवस्था थियो। तर उनी केही साथीहरू समेत श्रीलंकाको बाटो हुँदै इसराइल छिरेका थिए।
अहिले उनी त्यहाँ एउटा कुखुरा फार्ममा काम गर्छन्। सुरूदेखि नै उनको काम त्यही हो।
'पोहोर पनि नेपालमा मेरो यस्तो चाड छ, मलाई दसैंको समयमा बिदा दिनु भनेको थिएँ। तर कम्पनीले कुखुरा बेचिसकेर जाऊ भन्यो। अनि दसैं छुट्यो,' उनले थपे।
नेपालमा परिवारसँग मनाउन नपाए पनि त्यहीँ नेपाली साथीहरू भेला भएर दसैं मनाए।
'फार्ममा त म एक्लै छु। तर साथीहरूसँग गएर दसैं मनाउने चलन छ। पोहोर पनि पाँच–सात जना साथी भेला भएर मनाइयो,' उनले सम्झँदै सुनाए।
नेपालमा जसरी टीकाजमरा लगाएर खसीको मासु खाँदै दसैं मनाउने गरेको उनले बताए।
उनीहरू गमलामा तिल, जौ, गहुँको जमरा राख्छन्। गमला बाल्टिनले छोपेर राखेपछि राम्रा जमरा उम्रिन्छन्।
'नेपालकै जसरी खसीको मासुका परिकार खाँदै मनाउँछौं। परदेशीको दसैं यस्तै हुन्छ,' राजनले भने।
यसपालि पनि त्यसैगरी मनाउने योजना उनीहरूले बनाएका छन्। अझ यस पटक इसराइलमा मंगोलियन हार्ट (राजु लामाको ब्यान्ड) को लाइभ कन्सर्ट हुँदैछ। कात्तिक ६ गते शुक्रबार बेलुकी हुने कन्सर्टमा सहभागी भएर थप रमाइलो गर्ने उनले सोचेका छन्।
इसराइलमा दसैं मनाइरहँदा पनि राजनको मन नेपालमै हुन्छ।
'परिवारबाट बिछोडिएर आइएको छ। यहाँ जतिसुकै खुसी भए पनि यस्तो ठूलो चाड दसैंमा खल्लोपन हुन्छ,' उनी भन्छन्।
राजन परिवारसँग सामाजिक सञ्जालमार्फत भिडिण कुराकानी गरेर आफूलाई सम्हाल्ने प्रयास गर्छन्।
अघिल्लो वर्ष टीका लगाउने बेलामा छोरीले भिडिओ कल गर्दा उनी भावुक भएका थिए।
छोरीले 'बुबा, यता निधार थाप, म यहीँ मोबाइलबाटै टीका लगाइदिन्छु' भनिन्। हाँसीमजाक नै भइरहेको थियो। आमा नजिकै बसेर रून थालिन्। राजनलाई पनि सम्हालिन एकदमै गाह्रो भयो।
राजनका छोराछोरीले चाडबाडको समयमा उनलाई खुब सम्झिन्छन्।
'तपाईं यहीँ हुनुहुन्थ्यो भने कस्तो रमाइलो हुन्थ्यो नि बाबा भन्छन्,' उनले भने, 'यो पटक त चार वर्षे छोराले बाबा आउने भए मात्रै दसैंमा खसी काट्ने, नत्र नकाट्ने भनेछ। यस्ता कुराले चसक्क बनाउँछ।'
राजनका दुई छोरी र एक छोरा छन्। ७८ वर्षकी हजुरआमा र ८५ वर्ष कटिसकेका हजुरबुबा पनि छन्।
'कति बेला के हुन्छ, थाहा छैन। म टीकामा जहिल्यै हजुरबा, हजुरआमा र उहाँहरूले भाका मिलाएर दिने आशीर्वाद सम्झिन्छु,' राजनले भने।
राजनलाई अहिले पनि आफ्नो बाल्यकालको खुब याद आउँछ। त्यस बेला दसैंमा पिङको लट्ठा बाट्ने काममा सहभागी हुँदा खुब रमाउँथे। पिङ खेल्न पाउँदा र टीका लगाएर दक्षिणा पाउँदाको खुसीको सीमा हुँदैनथ्यो।
टीका लगाएर दुई रूपैयाँको नोट पनि पाउँथे। पाँच रूपैयाँ र १० रूपैयाँको नोट पाउँदा त धेरै खुसी हुन्थे। दक्षिणाको लोभमा गाउँभरि टीका थाप्न डुल्थे। तर उनको घरतिर छोराहरूलाई सबैले पैसा दिँदैनथे। मामाघरमा भने पाउँथे।
'त्यो बेला गाउँमा लाहुरे आउँदा छुट्टै महत्त्व हुन्थ्यो। एउटा–दुइटा चकलेट पाउँदा कति मीठो हुन्थ्यो,' उनले भने।
उनको घरनजिकै कच्ची बाटो थियो। बाटोमा गाडीभरि मान्छे हुन्थे। उनी साथीहरूसँग मिलेर सडकछेउमै बसेर गाडी गनिरहन्थे।
'अब त्यो बाल्यकाल फर्किने छैन,' राजनले भने।
राजन भिसाको अवधि सकिएपछि फर्किने छन्। परिवारसँगै दसैं मनाउनेछन्। उनको कुल भिसा अवधि पाँच वर्ष तीन महिनाको हो। अब दुई वर्षजति समय बाँकी छ।
'यहाँ काम गरून्जेल दसैंमा बिदा मिल्नेवाला छैन। भिसा सकिएपछि मात्रै परिवारसँगै भएर दसैं मनाउनेछु,' राजनले भने।