कराते प्रशिक्षकका रूपमा बेल्जियम पुगेका सुदर्शन सिंखडाले त्यहाँको २६ वर्षे बसाइमा खेलकुदसँगै व्यवसायका अनेक अनुभव सँगाले।
विभिन्न व्यवसाय गर्दै आएका उनले केही समयअघि आफ्नो व्यवसाय बेचबिखन गरे। अब भने उनको व्यावसायिक यात्रा हस्पिटालिटी र कृषि क्षेत्रतर्फ मोडिएको छ।
उनी जापानी प्रविधिमा आधारित जैविक मल उत्पादनको काममा जोडिएका छन्। अहिले साझेदारीमा दुई वटा कारखाना सञ्चालन गरिरहेका उनी अब नेपालमा कारखाना खोल्ने तयारीमा छन्।
त्यसका लागि स्थानीय सरकारसँग कुराकानी अघि बढिसकेको छ। तीन/चार महिनाभित्र नेपाल आएर काम अघि बढाउने उनको तयारी छ।
'नेपालमा जैविक मलको फ्याक्ट्री खोल्न लागेको छु। एक स्थानीय तहसँग कुरा भएको छ,' उनले भने, 'उनीहरूले आवश्यक सहजीकरण गर्ने बताएका छन्।'
यहाँ उनले एकल लगानीमा काम गर्न लागेका हुन्। नगरकोट क्षेत्रमा 'इकोलोजी रिसोर्ट' खोल्ने पनि तयारी छ।
रिसोर्ट निर्माणको काम केही महिनाभित्रै सुरू गरिने उनले बताए।
सुदर्शन काठमाडौंमै जन्मेहुर्केका हुन्। उनले २०४९ सालमा शारदा माध्यमिक विद्यालयबाट एसएलसी (एसइई सरह) दिए। बुबा नेसनल ट्रेडिङमा काम गर्थे। आमा गृहिणी थिइन्।

उनले कक्षा १२ सम्म चारूमती बहुमुखी क्याम्पस पढे। कानुन विषय पढेका उनको रूचि व्यापार र खेलकुदतर्फ पनि थियो।
'कलेज सुरू हुँदादेखि नै म खासाबाट सामान ल्याएर बेच्थेँ। सामान लिन आफै खासा पुग्थेँ,' सुदर्शनले सुनाए।
व्यापारसँगै उनको अर्को परिचय कराते प्रशिक्षकको थियो। १३ वर्षको उमेरदेखि उनले खेलकुद सिक्न थालेका थिए। सुरूमा बक्सिङ सिके, त्यसपछि भारोत्तोलन गरे। पछि रंगशालामा रहेको क्योकुसिन करातेमा गए।
बिस्तारै उनले कराते सिकाउन पनि थाले।
विद्यार्थीबाट महिनामा एक हजारदेखि १५ सय रूपैयाँ पारिश्रमिक पाउँथे। उनले त्यही पैसाबाट व्यवसाय गरे।
'करातेमा रूचि बढेको ब्रुस्लीका फिल्मबाट हो। ब्रुस्लीजस्तै हुन पाए हुन्थ्यो भन्ने सोच आउँथ्यो। त्यही सोचले खेलकुदतर्फ तान्दै लग्यो,' उनले भने।
उनले पछि ट्रान्सपोर्टेसन, कम्प्युटर इन्स्टिच्युट र रेस्टुरेन्ट लगायत क्षेत्रमा लगानी गरे।
सन् १९९७ मा सुदर्शन जापानको माकोहारीमा भएको वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन गए। उनी प्रशिक्षकका रूपमा त्यहाँ पुगेका थिए।
जापानबाट फर्किएपछि उनले गौशालामा एभरेस्ट फिजिकल फिटनेसमा सामूहिक लगानी गरे।
'त्यो आधुनिक तरिकाले बनाइएको थियो। सरकारी कर्मचारीदेखि सुरक्षामा काम गर्ने आर्मी, प्रहरी, उद्योगपति तथा कलाकारसम्म आउँथे,' उनले भने।
सुदर्शन सन् २००१ मा प्रशिक्षकका रूपमा बेल्जियम पुगे। परिवारको सल्लाहमा उतै बस्न थाले। त्यहाँ उनका साथी र करातेका विद्यार्थी भएकाले आड थियो।
'बेल्जियम आउँदा सबै व्यवसाय बेचेको थिएँ। फिजिकल फिटनेस चाहिँ साझेदारीमा भएकाले साथीलाई छाडेर आएको थिएँ,' उनले भने, 'त्यो पनि कोरोनामा बन्द भयो।'
नेपाल फर्केर व्यवसाय गर्ने कुनै माहोल नभएपछि उनले शरणार्थीका रूपमा आवेदन दिएका थिए। तर अस्वीकृत भयो। केही समय रेडक्रसको एउटा संस्थामा बसे।
क्योकुशिन करातेको विश्वभर शाखा थियो। उनले त्यसकै एउटा शाखामा प्रशिक्षकका रूपमा काम पाए। पछि उनले अस्थायी भिसा पाए। पढ्ने अवसर पनि पाए।
सन् २००८ मा एउटा स्थानीय टेलिभिजनले उनका बारे समाचार प्रसारण गरेको थियो। त्यसपछि नेपाली समुदायमा उनको सम्पर्क बढ्दै गयो। उनी विभिन्न संघसंस्थासँग मिलेर सामाजिक काममा पनि सक्रिय हुन थाले।
करिब दुई वर्षपछि उनी रेडक्रसको क्याम्पबाट निस्किए र अपार्टमेन्ट लिएर बस्न थाले।
उनले दुई–तीन वर्ष स्ट्रबेरी टिप्ने काम गरे। त्यसपछिका दुई–तीन वर्ष रेस्टुरेन्टमा काम गरेर एउटा प्राविधिक कम्पनीमा टेक्निसियन भए। त्यही समयमा सुदर्शनले स्थायी बसोबासको पत्र पाए। अनि आफ्नै व्यवसाय सुरू गरे।

सुरूमा सुदर्शनले किस्तामा पैसा बुझाउने गरी ग्रोसरी पसल खोले। चार वर्ष ग्रोसरी चलाएपछि उनले साझेदारीमा सुसी रेस्टुरेन्ट खोले। रेस्टुरेन्ट दुई वर्ष चलाए।
उनले वान इकोलोजी वर्ल्ड नामक फोहोर व्यवस्थापन कम्पनीमा काम पाए। जापानी प्रविधिमा आधारित यो कम्पनीकै जस्तो उनले नेपालमा काम गर्न लागेका हुन्।
जैविक मल निकाल्न ल्याब बनिसकेको छ। अहिले कानुनी प्रक्रिया भइरहेको छ।
सुदर्शनका अनुसार उनलाई भर्खरै बेलायतको पार्लियामेन्टले सम्मान गरेको छ।
'तीन वटा विधामा विश्व कीर्तिमान राखेकाले सम्मान पाएको हुँ,' उनले भने।
सन् १९९७ मा वर्ल्डबुक अफ रेकर्डले उनलाई उचाइ र उमेरका हिसाबले संसारकै कान्छो प्रशिक्षक र अन्तर्राष्ट्रिय करातेको रेफ्री मानेको थियो। त्यसअघि सन् १९९६ मा अन्तर्राष्ट्रिय आमन्त्रित क्योकुशिन कराते प्रतियोगिताको संयोजक तथा रेफ्रीका रूपमा पनि उनलाई सम्मान गरिएको थियो।