एउटा सानो सपना
त्यै सानो सपना लिएर बाँचेकी म
मेरो सुन्दर संसार
एउटा संसारकै सुन्दर मान्छे
त्यही मान्छेको सपना
यो सुन्दर साउन
हरियो चुरा
खैरो मेहन्दी
हल्का हरियो पलाएको जिन्दगी
मेरो कलकलाउँदो हरियो जीवन
त्यही हरियो साउनको छेवैमा
टुसाएको एक सपना
बस् सपनै बनेर रहिरह्यो आँखाका नानीभित्र
र गिज्याइरहेछ र भनिरहेछ
अब तैंले सपनाको ढोका बन्दै गर्नुपर्छ
कहिल्यै नखुल्ने गरी
किनकी तेरो भाग्य बद्लिएको छ
बिन्ती छ ‘अब तँ सपना देख्न बन्द गर्’ ।
यता तेरो सुन्दरताले तैं लाई चिन्न छाडिसक्यो
तै नि किन सपना देख्नु
तँ ढोका बन्द गर
बन्द ढोकाको सपना कोही देख्दैन
र तँलाई देख्नु पर्दैन
तँ मरिसकेकी छस्
तँ अब कथा र
कथाकी पात्र बनिसकेकी छस्
तेरो सौन्दर्य, तेरो गहना
ती भित्ताका फोटोमा अडिएका छन्
बरू ती सम्हाली बस्
एउटा बिन्ती 'तेरो सपनाको ढोका बन्द गर्’ ।
तेजाव-तेज आयो
आयो तेज आयो
गयो तेज गयो
गयो मेरो मुस्कुराउँदो समय
टुट्यो अनुहारको ओझ
एउटा सुन्दर घडी
त्यो सीसा फुटेझैं
सुन्दरता,भाग्य फुटेझैं
तैरिएर गयो त्यै तेजावजस्तै
जसरी छ्याप्प यो छालामा
तैंले आफ्नो रिस खन्याइस्
बोतल बाट,
र भनिस् ‘अब तँ सपनाको ढोका बन्द गर्’ ।
ब्रह्मले लुट्न नसक्ने मेरो भाग्य
सृष्टिको एउटा सुन्दर रचना
त्यै सुन्दर फूल
तैंले चाहेर पनि टिप्न नसकेको यो फूल,
यो बैंस, खै कसरी चुँडाइस्
बुझेस्,
फूल टुट्दैमा
बैंस झर्दैन
फूल मर्दैमा
बोट सुक्दैन
म त्यही बोट हुँ जो जो अझै मरेकी छैन
मेरा अनुहारका कोष काला हुँदा
तेरो पनि भाग्य पक्कै सफेद पाउने छैनस्
तेरो सफेद भाग्य एकदिन
जेलले कालो बनाउने छ,
त्यहीँ कुहाउने छ
तैंले भित्र चिच्याएको पनि कहिले सुन्नु नपरोस्
हुन त तैंले त्यही कान पनि बाँकी राखेनस्
म चिच्याएको यता दुनियाँले सुन्यो
भोलि कानुनले सुन्नेछ
काला कोट लाउनेले हरू बोल्नेछन्,
न्यायमूर्तिले सुन्न छाडेकी छैनन्
तैंले यी दुनियाँको कान
पगाल्न सक्ने छैनस्
बरु तँलाई भन्छु ‘अब तेरो सपनाको ढोका बन्द गर’।
तेरी बहिनीलाई
तेरी दिदीलाई कोही
उसैगरी फेरि एसिड नहानोस्
कोहीले भाग्य नपगालिदियोस्
मूर्ति पगालेझैं, कतै ज्युँदो मूर्ति नबनाओस्
तैंले हिजो बनाएझैं,
मलाई हिजो मेरै अनुहारले यो संसार
यो जगत बुझ्न रोकिरहन्थ्यो
मेरै सुन्दरताले मलाई सीमित गरिरहन्थ्यो
मैले हिजो, मात्र यही छालामा सुन्दरता देखेकी थिएँ
मैले यही त्वचामा मान्छे भुलेको भोगेकी थिएँ
जसरी तँ, एक घृणाको पात्र भुलिरहन्थिस्
यो छाला देखेर
मैले यो छाला जोगाउनु थ्यो
सुन्दर बनाउनु थ्यो
सुन्दरी बन्नु थियो
बस, बस अब त मेरो काम घटेको छ
बरु तँ ‘अब सपना देख्न बन्द गर’ ।
मैले अब यो संसार हेर्ने आँखा बदलेकी छु
मैले अब सुन्दरता मनभित्र भेट्न थालेकी छु
मैले ज्योति गुमाएर दृष्टि पाएकी छु
एउटा फूल तुहाएर हजार
हजार कोपिला भेट्टाएकी छु
मैले हजार सपना देख्न थालेकी छु,
मेरा हजार ढोका खुलेका छन्
तेरो एउटै ढोका, जेलको
म तेजाव होइन
तेज लिएर उठ्न लागेकी मान्छे
म जिन्दगीको कोण बदलेकी मान्छे
तै नि कसरी भन्न सक्छस् हँ?
खै कसरी भन्छस् ‘अब सपनाको ढोका बन्द गर’??