नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन्।
उनले सत्तारूढ पाँच दलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे।
अध्यक्ष ओलीले सत्तारूढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरू केही नभएको दाबी समेत गरे।
उनले भने, ‘राष्ट्रिय राजनीति जसरी अन्यौलग्रस्त, अस्थिरतायुक्त र गति अवरोधको अवस्थामा जो रहेको छ। त्यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अघि बढाउने काममा हामी लाग्छौं, आगामी दिनमा। वर्तमान गठनबन्धनको जुन सरकार छ, त्यसबाट देश चलिराखेको छैन। यो सबैले अनुभूत गरेको कुरा हो। कसैले बोल्छ, कसैले बोल्दैन।’
उनले थप भने, ‘कसले बोल्न मिल्छ, कसले मिल्दैन ? कसले भन्छ, कसले भन्दैन। कसलाई भन्न मिल्छ, कसलाई मिल्दैन, त्यो आफ्नो ठाउँमा होला। तर देश चलिरहेको छैन। सरकार चलिरहेको छैन। यस्तो चलेकोलाई पनि चलेको भन्ने हो भने त नचलेको कसलाई भन्ने ? र यो भद्रगोल, यो अनियमितता, यो बेथिति, यस प्रकारको गतिहीनता देशले लामो समय भोगिरहन सक्दैन। त्यसकारण हामी सधैं भनिरहेका छौं-छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊ।’
अध्यक्ष ओलीले आगामी मंसिर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहोर्याए।
उनले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरू बैठकमा आउने भएकाले आफूहरूले संसद बैठक चल्न दिन नसक्ने तर्क समेत गरे।
उनीहरू गैरसांसद भएकाले उनीहरू आएको संसद बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सत्तारूढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे।
उनले भने, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ। किन बोलाइएको हो ? अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला। तर हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर संसद कसरी चल्न सक्छ ? निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन। हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरू फेरि २८ गते आउछन् भने त्यो कुरा त फेरि हामीलाई स्वीकार्य हुन सक्दैन।’
अध्यक्ष ओलीले आफ्नो पार्टीको दसौं महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको दाबी समेत गरे।