राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमाथि जेनजी प्रतिनिधिहरूले विरोध जनाएका छन्।
पिछडिएका समुदायको आवाज प्रतिनिधिसभामा सुनियोस् भनेर समानुपातिकको व्यवस्था गरिएको भए पनि यसलाई नातेदारहरूको भर्ती केन्द्र बनाइएको भन्दै उनीहरूले टिप्पणी गरेकी छन्।
जेनजी प्रतिनिधहरू रक्षा बम, भावना राउत र तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भएको बताएकी छन्।
उनी लेख्छिन्, 'सदियौंदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौंदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो। दुखद कुरा चाहिँ, हिजो हजारौंको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।'
'मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौंदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्,' उनी अगाडि लेख्छिन्, 'यतिखेर म आफ्नो भूगोलबाट टाढा छु। रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस्। बिहान चियासँग सुख र समृद्धि पुकार्दै खाउँला। तर हामीले सम्झनैपर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौं। यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।'
त्यस्तै, जेनजी अभियानी भावना राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीप्रति प्रश्न उठाउँदै त्यसलाई नसच्याइए अन्धाधुन्ध समर्थन नगर्ने बताएकी छन्।
'यो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ, प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ, अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन,' उनले भनेकी छन्, 'उज्जवल थापाले सधैं भन्नुहुन्थ्यो, समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जबाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं, र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो। म अन्धभक्त बन्न सक्दिनँ।'
रास्वपाले बहुमत पाओस् र बालेन प्रधानमन्त्री बनून् भन्ने चाहना आफ्नो पनि रहेको उल्लेख गर्दै राउत लेख्छिन्, 'तर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लासजस्तै अन्धसमर्थक बन्न म सक्दिनँ। समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु तर प्रश्न गर्न, आलोचना गर्न र जबाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु, यो मेरो प्रतिबद्धता हो। मैले बुझेको राजनीति हो।'
नयाँ राजनीतिक दलहरूले नै 'शक्तिशाली' देखि आफन्तसम्मलाई समानुपातिक सूचीमा राखेको भन्दै भावनाले आपत्ति जनाएकी छन्।
उनले समानुपातिक प्रणालीको मूल मर्ममाथि प्रहार भएको भन्दै लेखेकी छिन्, 'समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ। तर आज प्रश्न यो हो, यसलाई कब्जा कसले गर्यो? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन?'
उनले जनआन्दोलन र रगतको त्यागलाई स्मरण गर्दै अगाडि थपेकी छन्, 'के यहीका लागि आन्दोलन भयो? सुदूरपश्चिम, मधेस, दलित, जनजाति— उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ब्रान्डेड अनुहार मात्र? यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो।'
नयाँ र वैकल्पिक राजनीतिको दाबी गर्ने दलहरूलाई लक्षित गर्दै उनले पुरानाकै पदचाप पछ्याएको आरोप लगाएकी छन्। उनले कलाकार, क्रिकेटर र गायकहरूलाई मैदानमा लड्ने स्रोत र साधन हुँदाहुँदै समानुपातिकमा बस्नु अवसरको ढोका बन्द भएकाहरूको अधिकार खोस्नु सरह भएको बताएकी छन्।
'पुरानाले गरेको अन्याय दोहोर्याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ?' राउतले प्रश्न गरेकी छन्।
अर्का जेनजी प्रतिनिधि तनुजा पाण्डेले समानुपातिक प्रणालीलाई व्यक्तिगत वा पार्टीगत लाभका लागि अनैतिक रूपमा प्रयोग गर्नु अस्वीकार्य भएको बताएकी छन्।
'प्रतिनिधि सभामा फरक फरक पृष्ठभूमिका व्यक्तिहरू आउँदा लोकतन्त्र बलियो हुन्छ। विभिन्न जात, वर्ग, क्षेत्र र अनुभव भएका व्यक्तिहरूको सहभागिता विशेष महत्व राख्छ। तर निर्वाचन प्रणालीको मूल भावना र उद्देश्य उल्लंघन गर्दै व्यक्तिगत वा पार्टीगत लाभका लागि अनैतिक रूपमा प्रतिनिधि सभामा आउनु अस्वीकार्य छ,' उनले लेखेकी छन्।
तनुजाले समानुपातिक प्रतिनिधित्व प्रणाली ऐतिहासिक रूपमा पछाडि पारिएका वर्ग र समुदायको संघर्ष र बलिदानबाट स्थापित भएको स्मरण गराउँदै भनेकी छन्, 'यो प्रणालीलाई नाम, पैसा वा शक्ति प्राप्तिको माध्यम बनाउन दिनु हुँदैन।'
'हिजो आरजु राणा देउवाजस्ता व्यक्तिहरू समानुपातिकबाट संसदमा आउँदा लज्जास्पद थियो र आजका केही नयाँ भनिएका पार्टीहरूले त्यही प्रवृत्ति दोहोर्याउँदै समानुपातिकको मूल भावनालाई कमजोर पार्नु दुःखद छ,' उनले लेखेकी छन्, 'यदि पुराना वा नयाँ भनिएका पार्टीहरूले समानुपातिक सूचीमा लोकप्रियता, पहुँच र चिनजानलाई प्राथमिकता दिन्छन् भने पुरानो र नयाँ पार्टीमा कुनै फरक रहँदैन।'
समानुपातिक सूचीमा उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम पात्रहरूको स्वागत भएको भन्दै उनले भनेकी छन्, 'वैकल्पिक शक्तिका साथीहरूले पनि उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम नेपो-किड्सहरूको स्वागत गरेको देख्दा खुसी लाग्यो!'
उनले देशका केही पात्रहरूको उदाहरण दिँदै भनिन्, 'यस देशमा मानुषी यमी भट्टराई, शृंखला खतिवडा, विदुषी राणा, अनुश्का श्रेष्ठ, सुहाङ नेम्वाङ, सृष्टि सिंह श्रेष्ठजस्ता पात्रहरू छन्, जससँग स्रोत–साधन, पुस्तान्तरीय सुविधाप्राप्ति मात्र होइन, बौद्धिकता, नेतृत्व क्षमता, सामाजिक योगदान र नैतिकता पनि उच्च स्तरको छ। यस्तो प्रतिभालाई मान्यता दिनु आवश्यक छ। अनावश्यक घृणा र इर्ष्याले कसैलाई फाइदा पुर्याउँदैन। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत योग्य व्यक्तिहरूलाई प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्नुपर्छ।'
उनले शक्ति आर्जनको प्रक्रिया होर्डिङ र पहुँचमा आधारित बन्नु हुँदैन भन्दै समानुपातिकको मूल भावनालाई सधैं प्राथमिकता दिन जरूरी रहेको उल्लेख गरेकी छन्।