राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्डका कारण फुटेको बताएका छन्।
उनले शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिक प्रतिवेदनमा लेखिएका आरोप फिर्ता नलिँदा नेकपा विभाजन गरेको बताए।
ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन तयार भइसक्दा पनि प्रचण्डले आरोप फिर्ता नलिँदा पार्टी फुटेको उनले बताए।
‘ओलीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री छोड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नुभएको थियो,’ उनले भने, ‘साथै ममाथि लगाइएका संघीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो। प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो। मैले मान्नुस्, फिर्ता लिनुस् भने तर मान्नुभएन।’
प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउँदा केपी शर्मा ओलीले प्रतिनिधिसभा नै विघटन गरेको बताए।
‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरूद्धमा अविश्वासको प्रस्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने अर्को घटना, यी दुई वटै घटनामा हामी सहमत हुन सकेनौं। मेरो विचारमा कोही पनि सहमत हुन नपर्ने हो, तर एकथरी कमरेडहरू विभाजित भएर लाग्नुभयो। मलाई मन परेन,’ उनले भने।
केपी ओली र प्रचण्ड दुबैले आफ्नो समूहमा बोलाए पनि आफू एकताको पक्षमा लाग्छु भन्दै हिँडेको बताए।
पार्टी विभाजन हुनुमा आफ्नो पनि हात भएको उनले बताए।
‘धेरैजसोले वामदेवकै कारणले पार्टी विभाजन भयो भने। मैले पनि गल्ती गरेकै हो। मैले यदि पार्टीभित्र उत्पन्न भएको समूह यो वा त्योमा नलागिकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुट्ने थिएन,’ उनले भने।
उनले आफूमात्रै नभएर पार्टीका सचिवालयका नवै जना सदस्यहरू पनि उत्तिकै जिम्मेवार भएको बताए।