नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित नेता अर्जुननरसिंह केसीलाई प्रतिनिधि सभा समानुपातिक सूचीमा राखिएको बताएका छन्।
केसी नुवाकोट २ बाट चुनाव लड्दै आएका थिए। यसपालि केसीको नाम नुवाकोट क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ नै सिफारिस भएको थियो। कांग्रेसले निर्वाचन आयोगमा केसीको नाम समानुपातिकतर्फ राखेर पठाएको छ।
केसी महामन्त्री थापाका ससुरा हुन्। तर पूर्वसहमहामन्त्री केसी नेता शेखर कोइराला समूहमा छन्।
‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो,’ महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
साथै महामन्त्री थापाले आफू विगतमा केसीसँगै महामन्त्री पदमा प्रतिस्पर्धा गरेको कुरासमेत उल्लेख गरेका छन्।
‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो,’ उनले भनेका छन्।
कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्री पदमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापाबीच प्रतिस्पर्धा हुँदा कोइराला जितेका थिए।
त्यसबेला कोइरालाले १४१७ मत प्राप्त गरेका थिए भने केसीले १०१७ र थापाले ५८४ मत ल्याएका थिए। कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुनमा भएको थियो।