पर्साको वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेकामध्ये १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालको मुख्य नाका वीरगन्जको इनर्वास्थित शंकराचार्य प्रवेशद्वारमा स्थापना गरिएको हेल्थ डेस्कमा एक महिनाको अवधिमा भारतबाट फर्कनेहरूको स्वास्थ्य चेक गर्दा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा गत चैत २३ गतेदेखि आज दिउँसोसम्म भारतबाट आउने १ हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा १६५ जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण भेटिएका १६५ जनामध्ये नेपाली ६८ जना र बाँकी ९७ जना भारतीय रहेको प्रहरीले जनाएको छ।
नेपाली संक्रमितलाई उनीहरूको सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्ने गरी पठाइएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए।
यता भारतीय संक्रमितलाई भने रक्सौलस्थित भारतीय प्रहरीसँग समन्वय गरी एम्बुलेन्समा राखेर भारततर्फ नै फर्काइएको एसपी पाण्डेले जानकारी दिए।
छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरू भएपछि वीरगञ्जको इनर्वा नाकाको हेल्थ डेस्कमा चैत २३ गतेदेखि एन्टिजेन विधिबाट कोरोनाको परीक्षण सुरू गरिएको थियो।
ज्वरो, रूघाखोकीसहित कोरोनाका लक्षण देखिएका व्यक्तिहरूलाई एक्टिजेन परीक्षण गरिएको र अन्यको हकमा थर्मलगनद्वारा तापक्रम नाप्ने तथा सामान्य स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गर्न दिइने गरिएमो प्रहरी उपरीक्षक पाण्डेले बताए।
शंकास्पद संक्रमितलाई होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिकाको समन्वयमा जिम्मा लगाउने गरिएको समेत एसपी पाण्डेको भनाइ रहेको छ।
वैशाखमा वीरगंज नाकाबाट ८ हजार ३ सयभन्दा बढी नेपाली तथा भारतीय नागरिक भित्रिएका छन्।