अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको भन्दै मुद्दा दर्ता गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
रामशाहपथ, काठमाडौंमा दरबन्दी भई कलंकीमा कार्यरत प्रहरी सहायक निरीक्षक भट्टले प्रहरी सेवामा आबद्ध हुन भारतबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर कार्कीका अनुसार भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड दिल्ली भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र लिएको देखिएको छ।
'नक्कली प्रमाणपत्र पेस गरी प्रहरी जवान पदमा नियुक्ति लिई बढुवा भएको देखिएको छ। त्यसैले मुद्दा दर्ता गरेका हौं,' उनले भने।
उनले २०५० चैत २० गते नियुक्ति लिई हालसम्म सरकारबाट सेवा सुविधाको लाभ लिई भ्रष्टाचार गरेको देखिएको अख्तियारका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।