१६ वर्षीया किशोरीलाई बन्धक बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतीय राजधानी नयाँदिल्लीको रनहोलास्थित मंगलबजार गल्ली नम्बर २ बापरूल्लामा रहेको एक घरबाट १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो। ती किशोरीको उद्धार गरी बिहीबार काठमाडौं ल्याइएको एसपी दानबहादुर मल्लले जानकारी दिए।
दिल्लीस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी, किन इन्डियालगायत संस्थासँग समन्वय गरी प्रहरीले ती किशोरी भएको ठाउँ पत्ता लगाएको थियो। त्यहाँबाट प्रहरीले उनलाई गत मंगलबार उद्धार गरेको थियो।
किशोरीलाई बन्धक बनाएर भारत पुर्याएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको पहिचान भने खुलाएको छैन।
ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएकाले ती किशोरी मामाघर बस्दै आएकी थिइन्। माध्यामिक तहमा पढिरहेकी उनी मंसिर १७ गते सम्पर्कबिहीन भएकी थिइन्। प्रहरीले गोपनियताको लागि पीडितको ठेगाना खुलाएको छैन।
लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले पुस ६ गते प्रहरीलाई लिखित निवेदन दिए। स्थानीय प्रहरीले केही समय खोजी गरेर फेला नपरेपछि गत माघ १० गते ब्युरोलाई पत्राचार भएको थियो।
ब्युरोले अनुसन्धान अघि बढाउँदासम्म किशोरीलाई भारत पुर्याइसकिएको थियो। मंसिर १७ गते मामाघरबाट ती किशोरीलाई काठमाडौं ल्याइएको थियो। एक महिना काठमाडौंमा बन्धक बनाएर पुस १९ गते उनको मामाघर भएकै जिल्लामा लगेर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
यहाँ हुँदा उनलाई बन्धक बनाएकाहरूले किशोरीको उचाइ, तौल नापेका थिए।
किशोरीको उचाइ ५ फिट ४ इन्चभन्दा माथि, शरिरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अंगमा चोट नभएको, रजस्वला नभएको हुँदा ती किशोरी छनोट गरिएको ब्युरोको अनुसन्धानबाट देखिएको छ।
यहाँबाट यी मापदण्डअनुसार जाँच भएपछि पीडितलाई पुस २० गते सुनौली नाका हुँदै दिल्ली पुर्याइएको थियो। भारतमा पनि ती मापदण्ड पूरा भएका छन् कि छैनन् भनेर जाँच गरिएको थियो।
ती किशोरीलाई भारतमा तान्त्रिक बाबा (गुरूजी)सँग भेट गराउने भनिएको थियो। नयाँ दिल्लीमा पुर्याएर उनीहरूले विभिन्न स्थानमा रहेका तीन फरक तान्त्रिक बाबासँग भेट गराएको पनि अनुसन्धानबाट देखिएको छ।
उनीहरूले के प्रयोजनका लागि बाबासँग भेट गराएको भन्ने खुलेको छैन।
‘के कारणले हो भन्ने भनेको छैन। तर बाबालाई खुशी पारे मागे जति पैसा पाइन्छ भनिएको छ। किशोरीलाई यहाँबाट लग्दा नै त्यसरी धेरै पैसा पाइन्छ भनेर लगेको देखिन्छ,’ उनले भने।
प्रहरीले भने दुइटा कारणले किशोरीलाई भारत लगिएको हुन सक्ने अनुमान गरेको एसएसपी श्रेष्ठले बताए।
एक पूजाको नाममा बली चढाउन र अर्को बाल यौन दुरूपयोग गर्नको लागि लगिएको हुनसक्ने प्रहरीको अनुमान छ। पीडित किशोरीलाई बाबालाई खुशी बनाए आफूले मागेजत्तिकै पैसा पाइने प्रलोभन देखाइएको हो।
यसरी एकपटक भेटाएर पनि फेरि बाबासँग भेटाउने भनिएको उनले बताए।
‘एकचोटी भेटायो। अब आउने पूर्णिमाको दिन ठूलो पूजा हुन्छ। त्यो दिन फेरि भेटाउने भनेर किशोरीलाई भनिएको रहेछ,’ उनले भने, ‘त्यो हुनुभन्दा अगाडि नै हामीले थाहा पाएर उद्धार गर्यौं।’
यो घटनामा ती किशोरीका चिनजानकै व्यक्तिहरूको संलग्नता रहेको उनले बताए। एक जना ती किशोरीलाई पुर्याउन भारतसम्म नै पुगेको पनि देखिएको छ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।