घाइते अवस्थामा फेला परेका दाङ घोराहीका एक युवकको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–९ तेघराका ३३ वर्षीय विजय पौडेल मंगलबार बेलुकी तुलसीपुर उपमहानगरपालिका–१७ स्थित हापुर खोलाको बगरमा टाउकोमा चोटग्रस्त अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार मंगलबार बेलुकी साढे ७ बजेतिर टाउकोमा चोटग्रस्त अवस्थामा फेला परेका पौडेललाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पुर्याइएको थियो।
घोराहीमा उपचार सम्भव नभएपछि राति नै घाइते पौडेललाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको थि । डिएसपी शाहका अनुसार पौडेलको नेपालगञ्जमा उपचारका क्रममा बुधबार बिहानै मृत्यु भएको हो।
यो घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली बिहानै घटनास्थलमा खटिएका थिए।
अहिले जिल्लाबाट प्रहरी प्रवक्ता डिएसपी शाहको टोली पनि घटना अनुसन्धानमा खटिएको छ।
प्रहरीले घटना अनुसन्धानका लागि विभिन्न व्यक्तिहरूलाई सोधपुछ तथा अनुसन्धान गरिरहेको छ।
काठमाडौंमा खबर गरी प्रहरीले पौडेलमाथि आक्रमण गर्ने व्यक्तिको स्केच पनि तयार पार्ने कार्य गरिरहेको एक जना प्रहरी अधिकारीले बताए।