ओखलढुंगामा दम्पती मृत फेला परेका छन्।
चिसंखुगढी नगरपालिका-६ भदौरेस्थित एक गोठमा श्रीमान-श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईले जानकारी दिए।
मृतक ६० वर्षीय सोबितबहादुर थापामगर र उनकी श्रीमती रत्नमाया थापामगर छन्।
दुबै जनाको शवलाई घाँसले छोपेको अवस्थामा फेला परेको हो।
प्रहरी निरीक्षक भट्टराईका अनुसार मंगलबार बिहान ८ बजेतिर घटनाबारे जानकारी भएको थियो।
त्यसपछि नजिकैको प्रहरी चौकीबाट घटनास्थललाई सुरक्षित राखिएको थियो। त्यस्तै अनुसन्धान अधिकारीको टोली पनि पुगेर अनुसन्धान अघि बढाएको थियो।
प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
शवको मुचुल्काको काम भइरहेको हुँदा हत्या कसरी भएको हो भन्ने यकिन भइसकेको छैन।
‘अहिले मुचुल्काको काम भइरहेको छ। सोधपुछ लगायतका काम पनि सुरू गरेका छौं,’ उनले भने।