पाउण्ड स्टर्लिङको विनिमय दर लगातार खस्किरहँदा यसमा अझै गिरावट आउने संकेत देखिएको छ। अमेरिकी डलरको तुलनामा पाउण्ड स्टर्लिङको भाउ एक प्रतिशतले ओरालो लागेको छ। बुधबारदेखि एक पाउण्ड स्टर्लिङको अमेरिकी डलरसँगको विनिमय दर १.११ कायम भएको छ।
बैंक अफ इंगल्याण्डले गत महिनादेखि सुरू गरेको आकस्मिक ऋणपत्र खरिद योजनालाई स्थगित गर्ने घोषणा गरेसँगै त्यहाको अर्थतन्त्रमा समस्या आउने भन्दै सरकारले नै बैंकको आलोचना गरिरहेको छ। शुक्रबारबाट सरकारी ऋणपत्र खरिदको यस्तो योजना बन्द हुने जानकारी दिइएको छ।
गत सेप्टेम्बर २३ मा त्यहाँको सरकारले ४५ अर्ब पाउण्ड (७९ अर्ब अमेरिकी डलर) बराबरको कर कटौती गर्ने घोषणा गरेसँगै केन्द्रीय बैंकले सरकारी ऋणपत्र खरिद गर्न थालेको थियो। सार्वजनिक ऋण नियन्त्रण गर्ने लक्ष्य अनुसार त्यहाको सरकारले एक वर्षमा करिब ६२ अर्ब पाउण्ड बराबरको खर्च कटौती गर्नुपर्ने प्रक्षेपण गरिएको छ।
नेपालमा पनि आठ महिनाअघिसम्म एक पाउण्ड स्टर्लिङको विनिमय दर करिब एक सय ६४ रूपैयाँ रहेकोमा बिहीबार यस्तो विनिमय दर एक सय ४६ रूपैयाँ ३४ पैसा कायम भएको छ। त्यस्तै बिहीबारका लागि एक अमेरिकी डलर बराबर एक सय ३२ रूपैयाँ ०१ पैसा विनिमय दर कायम गरिएको छ।