सिटिजन्स बैंकलाई जर्मनस्थित केएफडब्लू डेभलपमेण्ट बैंकले ३५ लाख युरो पुनर्कर्जा र ५ लाख युरो बराबरको प्रावधिक सहयोग प्रदान गर्ने भएको छ।
नेपालको ग्रामीण क्षेत्रमा लघु घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
बैंकलाई केएफडब्लू डेभलपमेण्ट बैंकले 'सेड्रा' प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्ये बाट चयन गरेको हो।
नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत केएफडब्लू डेभलपमेण्ट बैंकले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ।
बैंकले हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनु पर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकाल देखि नै स्वीकार गर्दै आएको बताएको छ।
बैंकले उक्त शीर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ।
यसमध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ।
यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पुर्याएको विश्वास बैंकले लिएको छ।
यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म ५ हजार ४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरी सकेको बैंकको भनाइ छ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०, १७:४४:५५