सरकारले व्यवसायिक लगानीकर्ताहरूलाई आयकरको दायरामा ल्याउन लागेको भन्दै लगानीकर्ताहरू आतंकित भएपछि नेप्से परिसूचक ९१.९९ अंकले घटेको छ।
हालसम्म लगानीकर्ताहरूले अल्पकालिन लगानीमा ७.५ प्रतिशत र दीर्घकालिन लगानीमा ५ प्रतिशत अग्रिम पुँजीगत लाभकर तिर्दै आएकोमा आयकर समेत लाग्ने भन्दै लगानीकर्ताहरू आत्तिएका हुन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार एक कार्यक्रममा यस्तो व्यवस्था एक प्रतिशतभन्दा कम लगानीकर्तालाई लाग्न सक्ने स्पष्ट पारेका छन्। तर, कतिसम्म आम्दानी गर्नेले यसरी अतिरिक्त कर तिर्नुपर्ने भन्ने अझै स्पष्ट भएको छैन।
यसकारण लगानीकर्ता अन्योलमै रहेका कारण सेयर बजार परिसूचक मंगलबार ५३.१६ अंक र बुधबार ३८.८३ अंक गरी दुई दिनमा ९१.९९ अंकले घटेको हो।
यस दिन नेप्से २.०६ प्रतिशतले घटेर १८४९.७९ बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँ पुगेको छ।
यस दिन २६२ वटा धितोपत्रको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ४० पैसा पुगेको छ।
यस्तै, माइखोला हाइड्रोपावरको सेयर मूल्य ६.४३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९८ रुपैयाँ पुगेको छ।
यसैगरी, युनिलिभर नेपाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३० हजार ८४ रुपैयाँ ३० पैसामा झरेको छ।
यस्तै, एशियन हाइड्रोपावको सेयर मूल्य ९.७५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३२७ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
बुधबार प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०२ रुपैयाँमा ३४ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४५२ रुपैयाँमा ११ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.५३ प्रतिशतले घटेको छ।