साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेको छ।
यस दिन नेप्से २.०९ प्रतिशतले बढेर १९८०.०९ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ पुगेको छ।
यो रकम गत चार महिना यताकै उच्च हो। यसअघि गत फागुन १६ गते ३ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि आइतबारको बजारमा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो।
यस दिन २७५ वटा धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार भूगोल इनर्जीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २४५ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, सिटी होटलको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १२२ रुपैयाँ २० पैसा पुगेको छ।
यसैगरी, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य सर्वाधिक ३.८३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ७९ पैसामा झरेको छ।
यस्तै, मेगा म्युचुअल फण्ड–१ को इकाइ मूल्य २.५३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ३२ पैसामा सीमित भएको छ।
आइतबार नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २ हजार ४५८ रुपैयाँमा ११ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.३१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४७३ रुपैयाँमा १० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशतले बढेको छ।
यस्तै, यस्तै लगानी समूहको परिसूचक ५.११ प्रतिशत र विकास बैंक समूहको परिसूचक ४.६६ प्रतिशतले बढेको छ।