रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन्।
जसमध्ये भाग्यमानी ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।
उक्त आइपिओमा कुल ११ लाख ८५ हजार २०६ जनाले आवेदन दिएकोमा १ लाख ७ हजार ४६६ जनाको आवेदन रद्द भएको छ।
बाँकी १० लाख ७७ हजार ७४० जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले बताएको छ।
कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको थियो।
सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएकोमा १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो।
सर्वसाधारणलाई निष्कासन गरिने सेयरमा उक्त सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर सार्वजनिक निष्कासनको लागि छुट्याइएको थियो।
निष्कासन गरिने कुल कित्तामध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ।
बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।