सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त आँखा शिविर सञ्चालन गरेको बताएको छ।
निःशुल्क आँखा शिविर कार्यक्रम जनता मा.वि, शुद्धोधन गाउँपालिका ७ रुपन्देहीमा सञ्चालन गरिएको थियो।
सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरू लिएका थिए।
त्यसैगरी, बैंकको दुहबी शाखाले विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेठ २५ गते छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो।
उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरू प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा १ सय ५१ जना सहभागी थिए।
बैंकले हरेक वर्ष देशका विभिन्न स्थानहरूमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतका विषयहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको जनाएको छ।