यसै महिनाबाट निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका बैंकहरूले असामान्य अवस्थामा बाहेक यसमा भद्र सहमति नहुने बताएका छन्।
सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघले यस्तो जानकारी दिएको हो।
'सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत बसेर ब्याजदरमा रहेको भद्र सहमति हटाउने निर्णय गरेका हौं, त्यसैले यो सहमति सजिलै भंग हुँदैन' संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'तर, असामान्य अवस्थाहरूमा भने त्यही समयको अवस्था हेरेर निर्णय गर्छौ।'
भद्र सहमति तोडिएसँगै एक वर्षे मुद्दती निक्षेपको औसत ब्याजदर ०.६० प्रतिशत बिन्दु र सामान्य बचतको ब्याजदर ०.१४ प्रतिशत बिन्दुले घटेको छ।
असारमा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर ९.९४ प्रतिशत रहेकोमा साउनमा ९.३४ प्रतिशत भएको हो। मुद्दती निक्षेपमा एक वर्षे मुद्दती निक्षेपको हिस्सा उच्च रहेको बैंकरहरू बताउँछन्।
त्यस्तै, असारमा साधारण बचतको औसत ब्याजदर ५.५२ रहेकोमा घटेर ५.३८ प्रतिशत भएको छ।