बुधवारदेखि बढ्ने प्रयासमा देखिएको नेप्से परिसूचक बिहीबार झिनो अंकले उकालो लागेको छ। नेप्से ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो।
बिहीबार नेप्से परिसूचक अन्तिम समयमा केही बढेको हो। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा बजारले स्पष्ट दिशा समात्न नसकेको हो। विशेष गरी गत आर्थिक वर्षको वित्तीय विवरणको पर्खाइमा लगानीकर्ताहरू रहेका देखिन्छन्।
वित्तीय विवरण सार्वजनिक हुने दर बढ्न थालेसँगै नेप्सेको दिशा स्पष्ट हुने देखिन्छ। बजारको गति स्पष्ट नभइरहँदा मोलमोलाई भने बढेको छ। यही कारण नेप्सेमा कारोबार अवधिभर तीव्र उतार चढाव देखिएको छ।
यस दिन कारोबार रकम मात्र घटेको छैन, मूल्य बढ्ने कम्पनीहरूको संख्या समेत घटेको छ।
बिहीबार एक अर्ब ७८ करोड रूपैयाँको सेयर किनबेच भएको छ। बुधबार भने एक अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको थियो।
त्यस्तै बुधबार १ सय ३४ वटाको मूल्य बढेकोमा बिहीबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको मूल्य बढेको छ। १ सय ४२ वटाको मूल्य घटेको छ।
यस दिन कारोबारमा आएकामध्ये विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन , जलविद्युत र निर्जीवन बिमा कम्पनी समूहको परिसूचक घटेको छ।
बिहीबार सपोर्ट माइक्रोफाइनानसको सेयर मूल्य १० प्रतिशतसम्म बढेर सर्क्रिट ब्रेक लागेको छ। कम्पनीको सेयर एक हजार ७६ रुपैयाँ ९० पैसामा कारोबार भएको हो। कारोबार रकमका आधारमा बिहीबार पनि शिवम् सिमेन्ट नै अग्रस्थानमा छ। कम्पनीको सबैभन्दा धेरै ९ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।