रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (मंगलबार) देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासनमा ल्याएको हो।
सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।
बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्।
उक्त सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।
आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट उपलब्ध गराएको 'मेरो सेयर' सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ।