साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि नेप्से परिसूचक घटेको छ।
गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण प्रकाशित गरिसकेका कम्पनीहरूको लाभांश क्षमतामा ह्रास देखिएपछि बजार घट्न सुरू गरेको हो।
वित्तीय विवरणले धेरैजसो कम्पनीको लाभांश क्षमता कमजोर देखिएपछि लगानीकर्तामा निराशा देखिएको हो। लगानीकर्ताको मनोबल कमजोर बनेपछि नेप्से झन् घट्ने क्रममा छ।
सोही कारण तीन दिनमा नेप्से परिसूचक ६९.९८ अंकले घटिसकेको छ।
मंगलबार नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६५ वटा धितोपत्रको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार स्वरोजगार लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ७५९ रुपैयाँ पुगेको छ।
यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३३ रुपैयाँ १० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा १२.२५% ग्लोबल आइएमई डिवेञ्चर २०८०/८१ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ९ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९७८ रुपैयाँ २० पैसामा सीमित भएको छ।
यस्तै, गोर्खाज फाइनान्सको सेयर मूल्य ८.२४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५३७ रुपैयाँ ७० पैसामा झरेको छ।
मंगलबार आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५८९ रुपैयाँमा १७ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.३८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७० रुपैयाँ १० पैसामा ६ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.७० प्रतिशतले घटेको छ।
यस्तै वित्त समूहको परिसूचक २.६९ प्रतिशतले घटेको छ।