लगातार घटिरहेको बजारमा बुधबार एक्कासि दोहोरो अंकको सुधार देखिएको छ। नेप्से ४१.०६ को उच्च अंक सहित २०६० बिन्दुमा पुगेको छ। २००१ बिन्दुसम्म पुगेर नेप्से फर्किएको थियो।
पछिल्लो समय लगानीकर्ताहरू कम्पनी र समग्र बजारको आधारभूत विश्लेषणमा भन्दा पनि प्राविधिक विश्लेषणमा भर पर्न थालेको ब्रोकरहरू बताउँछन्।
'हिजो र आजैमा आधारभूत पक्षमा कुनै फेरबदल आएको थिएन,' एक ब्रोकरले भने, 'तर, धेरै लगानीकर्ता प्राविधिक विश्लेषक भन्नेहरूको भर पर्दा अस्थिर निर्णय लिइरहेका छन्।'
हाल प्राविधिक विश्लेषकहरूले नेप्से २०४० बिन्दुमा तल नघट्ने र सोभन्दा तल आएमा १९८० बिन्दुबाट फर्किने बताइरहेको कारण बुधबार बजार फर्किएको ती ब्रोकर बताउँछन्।
प्राविधिक विश्लेषकहरूको मात्रै भरपर्दा लगानीकर्ताहरूले बजार घट्दा राम्रा कम्पनीको समेत सेयर बिक्री गर्ने गरेकोले यी आधारभूत पक्षको विश्लेषण समेत गर्न ती ब्रोकर सुझाउँछन्।
हाल बैंकहरूमा तरलता अधिक रहेको, ब्याजदर घट्दो क्रममा रहे पनि उद्योगी व्यवसायीहरूले कर्जा लिन सकिरहेका छैनन्। केही बैंकले सेयर कर्जा लिन लगानीकर्ताहरूलाई समेत बोलाइरहेका छन्। त्यसैले अवस्था खराब नै नरहेकोले कम्पनीहरूको अवस्था विश्लेषण गरेर किनबेचको निर्णय लिनुपर्ने उनी बताउँछन्।
'कसैले बजार घट्छ वा बढ्छ भनेकै आधारमा आफूसँग भएका राम्रा सेयर पनि बेच्ने गरिरहेका छन्, एउटा क्षेत्रले लाभांश दिन सक्ने नदेखिएपनि सबै क्षेत्रको सेयर बेचिरहेका थिए, त्यसमा ध्यान दिनुपर्छ,' ती ब्रोकरले भने।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ पुगेको छ।
यस दिन २६५ वटा धितोपत्रको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ६५९ रुपैयाँ पुगेको छ।
यस्तै, सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ९.७५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९४ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सेञ्चरी डिवेञ्चर २०८८ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ९.९९ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९२० रुपैयाँ ७० पैसामा सीमित भएको छ।
यस्तै, लक्ष्मी लघुवित्तको सेयर मूल्य ८.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७२० रुपैयाँमा झरेको छ।
बुधबार आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५९७ रुपैयाँमा १५ करोड ५० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.४१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५९० रुपैयाँमा ८ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४१ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशतले बढेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.५० प्रतिशत, वित्त समूहको परिसूचक ३.३८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ३.१५ प्रतिशतले बढेको छ।