ग्लोबल आइएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोडमार्फत् गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ।
बैंकले क्युआर कोडमार्फत् गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलइडी डिस्प्ले सहितको सेवा ल्याएको बैंकको भनाइ छ।
यो योजनासँगै ग्लोबल आइएमई बैंकका ग्राहकहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टिकरण एलइडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ।
यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास लिइएको छ।
यसबाट मर्चेन्ट/व्यापारी तथा ग्राहकहरूलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ।
साथै, यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टिकरण निर्भरता समेत घटाउँछ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।
बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।