माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्रमा पहिलो पटक इएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्ट-लेस अफलाइन 'ट्याप एन्ड पे' सेवा सुरू गरेको छ।
बैंकका अनुसार टोकनाइजलाई विश्वमै सुरक्षित र भरपर्दो प्रविधि मानिन्छ। यसमा ग्राहकहरूको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा विवरण गोप्य र सुरक्षित रहने बैंकको भनाइ छ।
बैंकले उक्त सेवा सुरू गरेसँगै तोकिएका निश्चित मर्चेन्टहरूबाट पिओएसमार्फत् कारोबार गर्दा मोबाइल बैंकिङ एप्लिकेसन एमबिएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।
हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन।
बैंकले साझेदारी र सहकार्यलाई आत्मसात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र सिटिटेक प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो।
बैंकले टोकनाइजलाई विस्तारै अन्य उत्पादन तथा सेवाहरूमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ।
विशेष गरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोज प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरू आफ्ना ग्राहकहरू माझ सञ्चालन गर्दै आएको जानकारी दिएकाे छ।