अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलको लागि बोलाएका छन्।
अर्थमन्त्रालयमा साँझ साढे ५ बजे छलफलको समय राखिएको छ। बैंकहरूले निक्षेप र कर्जामा लगाउने ब्याजदर घटाउने उपाय बारेमा छलफल गर्न बैठक डाकिएको स्रोतले बतायो।
बैंकहरूले यही साउनबाट ब्याजदरमा प्रतिस्पर्धा गर्न थालेका हुन्। तर, साउनमा ब्याजदर घटाएका बैंकबाट बढाएका बैंकहरूमा निक्षेप सर्न थालेपछि भदौमा केही बैंकले ब्याजदर बढाउने सोच बनाएका छन्। केही बैंकरहरूका अनुसार एक बैंकबाट अर्कोमा ४३ अर्बसम्म निक्षेप सरेको छ।
निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि ब्याजदर बढ्ने भएकोले छलफल गर्न लागिएको हो। भदौको लागि साउन मसान्तसम्ममा बैंकहरूले ब्याजदर प्रकाशित गरिसक्नुपर्छ। भदौको लागि ब्याजदर सार्वजनिक गर्ने समय आएसँगै अर्थमन्त्रालयले चासो राखेको हो।
साउनको लागि केही बैंकहरूले व्यक्तिगत निक्षेपमा अधिकतम ९.५० प्रतिशत ब्याजदर दिइरहँदा केही बैंकले भने १०.९३ प्रतिशतसम्म दिएका थिए।