कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ४७९ रुपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
कम्पनीको 'केबिएसएच' संकेतमा सेयर कारोबार खुला भएको छ।
आइतबार कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता आइपिओ सूचीकृत भएको थियो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूमा वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता सेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो।
सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
यस अवधिसम्म कम्पनीको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५२६ रुपैयाँ ९० पैसा पुगेको छ।