सोमबार नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ।
गत जेठ २९ गते नेप्से १९८६.६७ बिन्दुमा पुगेको थियो। त्यसयता पहिलो पटक बजार २००० बिन्दु तल आएको हो।
यसअघि बजार बढ्ने क्रममा १९६९ देखि १९७३ मा प्रतिरोध पाएको थियो। त्यसैले आगामी दिनको लागि भने १९८० बिन्दु आसपासबाटै टेवा पाउन सक्छ। टेवा र प्रतिरोध बिन्दु १०/१५ अंक तलमाथी हुनसक्ने विश्लेषकहरू बताउँछन्।
सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा पुगेको छ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ।
गत कारोबार दिन १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७२ वटा धितोपत्रको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार लक्ष्मी लघुवित्त र कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
उक्त लक्ष्मी लघुवित्तको सेयर मूल्य ७२८ रुपैयाँ २० पैसा पुगेको छ।
यस्तै, कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ९० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा मेन्छियाम हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको मूल्य ७.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १७४ रुपैयाँमा सीमित भएको छ।
यस्तै, हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.७७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २२८ रुपैयाँ ७० पैसामा झरेको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५०८ रुपैयाँ १० पैसामा ८ करोड २ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८५ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७७ रुपैयाँमा ५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको छ।
यस्तै,वित्त समूहको परिसूचक १.३३ प्रतिशतले घटेको छ।