ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार औपचारिक रुपमा सुरू भएको छ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू गरेका छन्।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गरे।
प्रमुख अतिथि हमालले मर्चेन्ट बैंक र कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रुपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको तर्फ जोड दिँदै बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम भूमिका हुने भएकोले संस्थागत सुशासन सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरूलाई आग्रह गरे।
साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरू बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएकोमा सोही अनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए।
ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरूले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए।
ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।