राष्ट्र बैंकले सोमबार चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड केही खुकुलो बनाएपछि एकाएक २० अंकसम्म बढेको नेप्से त्यसको केही बेरमै घट्ने क्रममा देखियो।
बजार खुलेदेखि ओरालो गतिमा लागेको नेप्से १९९० बिन्दुसम्म पुगेको थियो। त्यसलगत्तै चालु पुँजी कर्जा सम्बन्धी मापदण्डमा केही खुकुलो व्यवस्था आएपछि भने बढ्न थाल्यो।
केही समय हौसिएका लगानीकर्ता राष्ट्र बैंकले निष्क्रिय कर्जामा थप कडाइ गरेको थाहा पाएपछि भने एकाएक हतास भए।
एउटाभन्दा बढी कर्जा लिएका कुनै व्यक्ति वा संस्थाको कुनै एउटा ऋण निष्क्रिय भए अन्य असल वर्गमा रहेको ऋणलाई समेत सुक्ष्म निगरानी अन्तरगत वर्गीकरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यसले बैंकहरूलाई अन्य कर्जाको लागि पनि ५ प्रतिशत जोखिम प्रावधान राख्नुपर्ने र ऋणीले थप कर्जा पाउन समस्या हुनसक्ने देखिएपछि बजारमा प्रभाव परेको हो।
सेयर बजारमा उद्योगी, व्यवसायीहरूको पनि ठूलो मात्रामा लगानी रहेकोले उनीहरूलाई पर्ने प्रभाव बजारमा पनि देखिने आशंकामा बजार बढ्ने क्रममा ब्रेक लागेको हो।
नेप्से परिसूचक बजार बन्द हुने समयमा भने ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा आएको छ। नेप्से केही समयदेखि १९८० को टेवा परीक्षणमा समेत छ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने यस दिन अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँ पुगेको छ।
यस दिन २७९ वटा धितोपत्रको ३६ लाख ५१ हजार ५९८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ८४८ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, लक्ष्मी सनराइज बैंकको सेयर मूल्य ४.७१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १८१ रुपैयाँ २० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ११४ रुपैयाँ ९० पैसामा सीमित भएको छ।
यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६३६ रुपैयाँ १० पैसामा झरेको छ।
सोमबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १८१ रुपैयाँ २० पैसामा ७ करोड ३१ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४५० रुपैयाँमा ४ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशतले बढेको छ।