केही दिनदेखि नेप्से परिसूचकले स्पष्ट दिशा लिन सकिरहेको छैन। नेप्से २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा सीमित भएको छ।
नेप्से परिसूचक केही समयदेखि १९८० को टेवा परिक्षणमै रहेको छ। तर बजार वृद्धि हुने गरि सकारात्मक खबर नआउँदा बजार बढ्न सकेको छैन्।
राष्ट्र बैंकले चालु पुँजी कर्जालाई केही खुकुलो बनाएपछि उत्साहित भएको बजार खराब कर्जा सम्बन्धी व्यवस्थाको कारण भने घट्न थालेको हो।
एउटा ऋणीले लिएको ऋण खराब भए सो ऋणीको अर्को ऋण समेत सुक्ष्म निगरानीमा राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको थियो। सो ऋणी आबद्ध समूहकै अन्य ऋणलाई पनि सुक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था समेत गरिएको छ।
बजारले कुनै सकारात्मक खबर पाएमा भने बढ्न सक्ने सम्भावना देखिएको छ।
बुधबार कारोबार रकममा भने सुधार भएको छ। मंगलबार ८६ करोड ५१ लाख रूपैयाँ बराबरको कारोबार भएकोमा बुधबार एक अर्ब १३ करोड रूपेयाँको कारोबार भएको छ।
यस दिन कारोबारमा आएका होटल तथा पर्यटन समूहगत परिसूचकबाहेक सबै समूहगत परिसूचक घटेका छन्। कारोबारमा आएका २ सय ७६ कम्पनीमध्ये ९७ वटाको मूल्य बढेको छ। एक सय ४९ को मूल्य घटेको छ।
आज लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको सेयर मूल्य भने ९० पैसाले मात्रै बढेको छ। बैंकको अन्तिम कारोबार २ सय ७५ रूपैयाँ ९० पैसामा भएको छ।
बैंकले १३.३० प्रतिशत बोनस सेयर र १.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
बैंकको यसै दिन सबैभन्दा धेरै रकमको कारोबार भएको छ। बैंकको १० करोड ९१ हजार २ सय ९७ रूपैयाँको कारोबार भएको हो।