नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले 'नेप्से इन्डेक्स ३०' सम्बन्धी कार्यविधि सोमबार बसेको नेप्सेको सञ्चालक समितिले स्वीकृत गरेको छ।
सञ्चालक समितिले पारित गरेसँगै असोज अन्त्यसम्ममा नेप्से इन्डेक्स ३० कार्यान्वयनमा आउने भएको छ।
'नेप्से ३० इन्डेक्स' बजारमा तत्काल कारोबारयोग्य रहेका सेयरहरूको बजार पुँजीकरणको आधारमा तयार पारिएको नयाँ सूचक हो। साउनदेखि नै नेप्सेले आन्तरिक रुपमा नेप्से इन्डेक्स ३० को परीक्षण गरिरहेको छ।
यो इन्डेक्समा बजारमा सूचीकृत समूहबाट ३० वटा कम्पनी छनोट गरिएको छ।
यसमा समावेश हुने कम्पनीको प्रति सेयर चुक्ता मुल्यभन्दा प्रति सेयर किताबी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको हुनुपर्ने व्यवस्था छ।
कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था छ।
फ्रि–फ्लोट बजार पुँजीकरण लिइँदा २०७९ पुस ३० गतेलाई आधार लिइएको छ। त्यस्तै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तीमा २० हजार हुनुपर्ने व्यवस्था छ।
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुन्छन्।
पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राखिएको छ।
यस्तो इन्डेक्स तयार पार्दा माथि उल्लेखित छनोट विधि अनुसार आएका कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिएर कुल भार गणना गरिने भएको छ।
यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८/८ वटा कम्पनी छानिएका छन्।
समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिएको छ। यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइएको छ।
तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तीमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ। छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा भने प्रत्येक समूहवाट आठभन्दा बढी कम्पनी छनौट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइन कार्यविधिमा व्यवस्था छ।
यो इन्डेक्समा रहेका कम्पनीहरू हरेक वर्ष दुई पटक पुनर्मूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार यसरी पुनर्मूल्यांकन गरेर कम्पनी परिवर्तन गरिने भएको छ।