मिड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६२ हजार ११७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
बाँडफाँटपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ।
यसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।
उक्त आइपिओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकोमा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र बाँडफाँटको लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी पहिले नै बाँडफाँट गरिसकेको छ।
साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यस्तै, १४ हजार ९६८ कित्ता सेयर कम्मपनीका कर्मचारीहरूका लागि ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि कम्पनीले निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।