पशुपन्छीका औषधि तथा पोषण सामग्री उत्पादन गर्दै आएको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले बिहीबारदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन सुरू गरेको छ।
कान्तिपुरले पहिलो चरणमा उद्योग रहेको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि आठ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर निष्कासन गरेको हो।
स्थानीय बासिन्दाले मंसिर २४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। दोस्रो चरणमा आम सर्वसाधारणका लागि सात लाख २९ हजार कित्ता सेयर निष्कासन हुनेछ।
कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको सहित कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले कुल १७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। आइपिओ निष्कासनपछि यसको चुक्ता पुँजी अहिलेको ६३ करोड रूपैयाँबाट बढेर ८० करोड रूपैयाँ पुग्नेछ।
कान्तिपुर फर्मास्युटिकल्सले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणपत्र अनुसार पछिल्ला ३ वर्षमा यसको व्यवसाय उल्लेख्य विस्तार भएको छ। आम्दानी बढेको छ। पछिल्लो वर्ष नाफा कमाउने क्षमतामा पनि ठूलो सुधार आएको छ।
बजारमा बिक्री गरेको सामानको पैसा उठाउन लाग्ने समय र दैनिक व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजी व्यवस्थापन भने कान्तिपुरका प्रमुख चुनौती हुन्।
काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन केन्द्र रहेको कान्तिपुर पशुपन्छीका औषधि, पोषण सामग्री तथा दानामा मिसाइने पूरक पोषण सामग्री उत्पादक कम्पनी हो। यसले आर्थिक वर्ष २०७७/७८ देखि आंशिक उत्पादन सुरू गरेको थियो। २०८१ साउनदेखि पूर्ण सञ्चालनमा आएको हो। यसले १०२ प्रकारका एलोपेथिक औषधि उत्पादन गर्न अनुज्ञापत्र प्राप्त गरेको छ।
कान्तिपुर फर्मास्युटिकल्सले दक्षिण कोरियाको पशु औषधि उत्पादक कम्पनी केबिएनपी इंकसँग प्राविधिक सहकार्य गरेको छ।
यसको उपलब्ध वित्तीय विवरण हेर्दा पछिल्ला तीन वर्षमा वार्षिक आम्दानी दोब्बरभन्दा बढी भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ६५ लाख रूपैयाँको कारोबार गरेको थियो। २०८१/८२ मा ४० करोड ८८ लाख र गत आर्थिक वर्ष २०८२/८३ मा ५३ करोड ४१ लाख रूपैयाँको कारोबार गरेको छ।
गत वर्ष मात्रै आम्दानी ३०.७ प्रतिशत बढेको छ।
आर्थिक वर्ष २०८०/८१ मा तीन करोड १६ लाख रूपैयाँ खुद नाफा कमाएको थियो। त्यसपछिको वर्ष दुई करोड ५७ लाख रूपैयाँ कमाएको थियो। गत वर्ष भने कम्पनीको खुद नाफा आठ करोड ७४ लाख रूपैयाँ पुगेको छ।
अर्थात् गत वर्ष आम्दानी करिब ३१ प्रतिशत बढ्दा नाफा झन्डै २४० प्रतिशत बढेको छ।
यसको वित्तीय विवरण केलाउँदा आम्दानीको तुलनामा बिक्री लागत कम हुनु नाफा बढ्नुको प्रमुख कारण देखिन्छ।
अघिल्लो आर्थिक वर्षमा ४० करोड ८८ लाख रूपैयाँको कारोबार गर्दा यसको बिक्री लागत २३ करोड ५९ लाख रूपैयाँ थियो। गत वर्ष ५३ करोड ४१ लाख रूपैयाँको कारोबार गर्दा त्यस्तो लागत २६ करोड ७२ लाख रूपैयाँ छ।
अर्थात् अघिल्लो वर्ष एक सय रूपैयाँको सामान बेच्दा बिक्री लागत झन्डै ५८ रूपैयाँ पर्थ्यो। गत वर्ष यस्तो लागत ५० रूपैयाँमा झरेको छ।
त्यसको प्रभाव खुद नाफामा पनि परेको छ। अघिल्लो वर्ष एक सय रूपैयाँको कारोबार गर्दा यसले ६.२९ रूपैयाँ खुद नाफा कमाउँथ्यो। गत वर्ष त्यति नै कारोबार गर्दा करिब १६.४० रूपैयाँ खुद नाफा कमाएको छ।
बिक्री बढ्दै जाँदा त्यसको अनुपातमा लागत कम हुनु उत्पादनमूलक कम्पनीका लागि सकारात्मक पक्ष हो। कान्तिपुर फर्मास्युटिकल्सको हकमा पनि यो सुधार नियमित व्यवसायबाटै आएको देखिन्छ।
पछिल्ला तीन वर्षमा भने कम्पनीको नाफा कमाउने दरमा उतारचढाव देखिएको छ। त्यसैले गत वर्षको नाफा कति दिगो हुन्छ भन्ने हेर्न बाँकी छ।
त्यस्तै गत आर्थिक वर्ष अन्त्यसम्म कम्पनीले बैंकबाट लिएको ऋण २७ करोड ५१ लाख रूपैयाँ छ। त्यसमध्ये १० करोड २२ लाख रूपैयाँ दीर्घकालीन र १७ करोड २९ लाख रूपैयाँ अल्पकालीन ऋण हो।
चुक्ता पुँजी र जगेडा कोषसहितको कुल सेयरधनी पुँजी वासलात अनुसार ८६ करोड १३ लाख रूपैयाँ छ। त्यसको तुलनामा बैंक ऋण करिब ३२ प्रतिशत हो।
कान्तिपुर फर्मास्युटिकल्सको वित्तीय अवस्था मूल्यांकन गरेको केयर रेटिङ नेपालले पनि तुलनात्मक रूपमा कम ऋण अनुपातलाई यसको सकारात्मक पक्ष मानेको छ। आइपिओ निष्कासनपछि कम्पनीको ऋण अझ घट्ने सम्भावना छ।
यसले आइपिओबाट उठाउने १७ करोड रूपैयाँमध्ये १३ करोड रूपैयाँ ऋण तिर्न र चार करोड रूपैयाँ उपकरण तथा अन्य सम्पत्ति खरिद गर्न खर्च गर्ने योजना बनाएको छ।
गत आर्थिक वर्षको ऋणलाई आधार मान्ने हो भने आइपिओबाट उठेको रकमले कम्पनीको झन्डै आधा बैंक ऋण तिर्न पुग्छ।
कान्तिपुरले गत आर्थिक वर्ष ब्याजबापत दुई करोड ६७ लाख रूपैयाँ खर्च गरेको थियो। आइपिओबाट उठेको रकमले ऋण तिरेपछि अन्य अवस्था यथावत रहे यसको ब्याज खर्च घट्नेछ। त्यसको सकारात्मक प्रभाव खुद नाफामा पनि पर्नेछ।
लगानीकर्ताले कम्पनीको वित्तीय विवरणमा विशेष ध्यान दिनुपर्ने पक्ष भनेको बजारमा बिक्री गरेको सामानको उठ्न बाँकी पैसा हो।
गत आर्थिक वर्ष अन्त्यसम्म यसले बिक्री गरेको सामानबापत २३ करोड ८४ लाख रूपैयाँ उठाउन बाँकी छ। अघिल्लो आर्थिक वर्ष अन्त्यमा यस्तो रकम १७ करोड २९ लाख रूपैयाँ थियो।
गत वर्ष अन्त्यमा उठाउन बाँकी रकम उक्त वर्षको कुल बिक्री आम्दानीको झन्डै ४५ प्रतिशत बराबर हो। त्यसबाहेक कच्चा पदार्थ तथा तयारी सामान लगायत मौज्दातमा १८ करोड ६९ लाख रूपैयाँ छ।
यसरी बजारबाट उठाउन बाँकी रकम र मौज्दात गरी कान्तिपुर फर्मास्युटिकल्सको साढे ४२ करोड रूपैयाँभन्दा बढी पुँजी छ।
केयर रेटिङ नेपालले सन् २०२६ जनवरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा कान्तिपुर फर्मास्युटिकल्सलाई बिक्री गरेको सामानको पैसा उठाउन औसत १३३ दिन लाग्थ्यो। सामान मौज्दातमा रहने औसत अवधि २३० दिन थियो।
अधिकांश कच्चा पदार्थ आयात गर्ने र विभिन्न औषधि ग्राहकको माग अनुसार उपलब्ध गराउनुपर्ने भएकाले बढी मौज्दात राख्नुपर्ने अवस्था रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
आपूर्तिकर्ताबाट पाएको उधारो अवधिसमेत हिसाब गर्दा उक्त आर्थिक वर्षमा कम्पनीले व्यवसाय सञ्चालनका लागि लगाएको चालु पुँजी नगदका रूपमा फर्किन औसतमा ३०४ दिन अर्थात् झन्डै दस महिना लाग्थ्यो।
सामान उत्पादन गर्न लगाएको पैसा लामो समयसम्म नगदका रूपमा फिर्ता नआउँदा कम्पनीले थप कच्चा पदार्थ किन्न, कर्मचारीलाई तलब दिन र दैनिक व्यवसाय सञ्चालन गर्न बैंक ऋणमा भर पर्ने अवस्था आउन सक्छ। यसको प्रभाव ब्याज खर्च र नाफामा पर्छ।
तर गत आर्थिक वर्ष कान्तिपुरको नगद प्रवाहमा उल्लेख्य सुधार भएको छ। वर्ष २०८१/८२ मा व्यवसाय सञ्चालनबाट हुने खुद नगद प्रवाह दुई करोड ६० लाख रूपैयाँ ऋणात्मक थियो। २०८२/८३ मा आठ करोड ४० लाख रूपैयाँ धनात्मक भएको छ।
यसमा कम्पनीले तिरेको ब्याज घटाइएको छैन। ब्याज भुक्तानीसमेत घटाउँदा पाँच करोड ७३ लाख रूपैयाँ बाँकी रहन्छ।
गत वर्ष उपकरण तथा अन्य सम्पत्ति खरिद गर्न यसले तीन करोड सात लाख रूपैयाँ खर्च गरेको छ। ऋणमा खुद दुई करोड ८७ लाख रूपैयाँ कमी आएको छ।
गत आर्थिक वर्ष अन्त्यमा कम्पनीसँग एक करोड ६ लाख रूपैयाँ नगद तथा नगद बराबरका सम्पत्ति थियो।
कुनै पनि कम्पनीको सेयर किन्दा लगानीकर्ताले हेर्ने अर्को महत्त्वपूर्ण सूचक प्रतिसेयर आम्दानी (इपिएस) र प्रतिसेयर खुद सम्पत्ति (नेटवर्थ) हुन्।
वर्ष २०८२/८३ मा कान्तिपुर फर्मास्युटिकल्सको प्रतिसेयर आम्दानी १३.८८ रूपैयाँ भयो। त्यसअघिको वर्ष ४.०८ रूपैयाँ थियो।
अहिलेको प्रतिसेयर आम्दानी भने ६३ लाख कित्ता सेयरका आधारमा गणना गरिएको हो। आइपिओ निष्कासनपछि कम्पनीको कुल सेयर संख्या ८० लाख कित्ता पुग्नेछ। गत वर्षकै बराबर नाफा कमाउने हो भने बढेको पुँजीका आधारमा प्रतिसेयर आम्दानी १०.९३ रूपैयाँ हुनेछ।
यसरी हेर्दा एक सय रूपैयाँको आइपिओ मूल्यमा कम्पनीको मूल्य–आम्दानी अनुपात (पिई रेसियो) करिब ९.१५ गुणा हुन्छ। सेयरको मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर यो अनुपात निकालिन्छ। आइपिओपछि कम्पनीले नाफा बढाउन सके प्रतिसेयर आम्दानी पनि बढ्नेछ।
त्यस्तै, गत आर्थिक वर्ष अन्त्यमा यसको प्रतिसेयर नेटवर्थ १३६.७२ रूपैयाँ थियो। यसमा कम्पनीको सम्पत्ति पुनर्मूल्यांकन गर्दा बढेको मूल्य पनि समावेश छ। पुनर्मूल्यांकनबाट थपिएको रकम हटाएर हिसाब गर्दा प्रतिसेयर नेटवर्थ १२६.२४ रूपैयाँ हुन्छ।
अर्थात् दुवै हिसाबले यसको प्रतिसेयर खुद सम्पत्ति आइपिओ निष्कासन मूल्यभन्दा बढी छ।
तर यो लेखांकनमा आधारित कम्पनीको सम्पत्तिको मूल्य हो। यसले भविष्यमा सेयर बजारमा कारोबार हुने मूल्य वा लगानीकर्ताले पाउने प्रतिफल सुनिश्चित गर्दैन।
कम्पनीले केयर रेटिङ नेपालबाट 'केयर–एनपी बिबी प्लस (इस)' रेटिङ पाएको छ। यसले कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमता मध्यम स्तरको जोखिम रहेको देखाउँछ।रेटिङ संस्थाले कम्पनीको अनुभवी व्यवस्थापन, विभिन्न प्रकारका उत्पादन, विस्तारित वितरण सञ्जाल र तुलनात्मक रूपमा कम ऋण अनुपातलाई सकारात्मक पक्ष मानेको छ।
चालु पुँजी व्यवस्थापन, औषधि बजारमा रहेको प्रतिस्पर्धा, नियमन सम्बन्धी जोखिम र ब्याजदरमा हुने उतारचढावलाई भने चुनौतीका रूपमा औंल्याएको छ।
चालु आर्थिक वर्षमा माल्ट फिड र बोलस एपी उत्पादनका लागि नयाँ मेसिन जडान गर्ने योजना बनाएको छ। नयाँ मेसिन जडानपछि यी उत्पादनको क्षमता क्रमशः दुई गुणा र डेढ गुणा हुने कम्पनीको अनुमान छ।
चालु आर्थिक वर्षमा थप २५ वटा नयाँ उत्पादनका लागि बजारीकरण अनुमति लिने योजना पनि कम्पनीको छ। यी योजना कार्यान्वयन भए व्यवसाय थप विस्तार हुने आधार तयार हुनेछ।
समग्रमा कान्तिपुर फर्मास्युटिकल्सको व्यवसाय विस्तार भइरहेको छ।
गत वर्ष कम्पनीले आम्दानी मात्र बढाएको छैन, बिक्रीको तुलनामा लागत घटाएर नाफा कमाउने क्षमतामा पनि सुधार गरेको छ। आइपिओबाट प्राप्त रकमले ऋण घटाउने योजनाले पनि यसको वित्तीय अवस्था सुधार्न मद्दत पुग्ने देखिन्छ।
कान्तिपुर फर्मास्युटिकल्सले अब व्यवसाय विस्तार गर्दै जाँदा नाफाको दर कायम राख्न सक्छ कि सक्दैन र बजारबाट पैसा उठाउन लाग्ने समय घटाएर बैंक ऋणमाथिको निर्भरता कम गर्न सक्छ कि सक्दैन भन्ने कुराले आगामी दिनमा यसको वित्तीय स्वास्थ्य र सेयरधनीले पाउने प्रतिफल निर्धारण गर्नेछ।
कान्तिपुर फर्मास्युटिकल्सले व्यवसाय विस्तारसँगै नाफाको दर कायम राख्न र बजारबाट बिक्री गरेको सामानको पैसा छिटो उठाउन सक्छ कि सक्दैन भन्ने महत्त्वपूर्ण हुनेछ। यसले बैंक ऋणमाथिको निर्भरता घटाउन सके कम्पनीको वित्तीय अवस्था थप बलियो हुनेछ।
अन्ततः यी पक्षले नै कम्पनीको भविष्य र सेयरधनीले पाउने प्रतिफल निर्धारण गर्नेछन्।
***