भारतीय विपक्षी दल तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले नेपाली मूलकी आमाका सन्तान भएकैले एक भारतीय युवालाई बेलायत जान रोकिएको विषय उठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेकी छन्।
उनले प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जाल 'एक्स' मा मेन्सन गर्दै एकातिर मोदीले नेपालका युवा प्रधानमन्त्रीसँग निकटता देखाउने र अर्कातिर आफ्नै देशका युवामाथि विभेद गर्ने गरेको आरोप लगाएकी छन्।
प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमण सकेर नेपाल फर्किएको भोलिपल्ट मंगलबार मोइत्राले यस्तो टिप्पणी गरेकी हुन्।
'प्रिय बालेन शाह, एकातिर हाम्रा प्रधानमन्त्री तपाईंसँग निकटता बढाइरहनुभएको छ। अर्कातिर जेनजी सौरभ दासलाई उनकी आमा नेपाली मूलकी भएकै कारण अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ,' उनले लेखेकी छन्, 'तपाईं युवाहरूको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुस्, हाम्रा प्रधानमन्त्री हाम्रा युवाहरूसँग कस्तो व्यवहार गर्छन्! लाजमर्दो!'
मोइत्राले उल्लेख गरेका सौरभ दास भारतको युवा अभियान 'कक्रोच जनता पार्टी' का सहसंयोजक तथा प्रवक्ता हुन्। उनी यसअघि पत्रकारितामा सक्रिय थिए।
सोमबार बेलायत जान लागेका उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरूले रोकेका थिए।
दासले आफूलाई बेलायतका अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबरा लगायतका शैक्षिक संस्थामा भारतमा चलिरहेको युवा आन्दोलनबारे बोल्न निम्तो आएको बताएका छन्।
उनले विमानस्थलबाटै भिडिओ सार्वजनिक गर्दै मोदी सरकारले आफूलाई विदेश जानबाट रोकेको आरोप लगाएका थिए।
अध्यागमन काउन्टरमा पुगेपछि अधिकारीहरूले आफ्नो राहदानीमा रोक लगाइएको जानकारी दिएको उनले बताएका छन्। उनले शिक्षित युवाहरूले बौद्धिक छलफल गरेको देखेर सरकार किन डराउँछ भनेर पनि प्रश्न गरेका छन्।
भारतीय सञ्चारमाध्यम 'इन्डियन एक्सप्रेस' का अनुसार दासको राहदानीमा उल्लेख भएको जन्मस्थानसम्बन्धी विवरण फरक परेको भन्दै उनलाई विदेश जान रोकिएको हो।
चेन्नईस्थित क्षेत्रीय राहदानी कार्यालयले सोमबार मात्रै उनलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना जारी गरेको थियो। स्पष्टीकरण पेस नगरेसम्म राहदानी प्रयोग गरेर यात्रा नगर्न पनि भनिएको थियो।
दासलाई सन् २०१९ अगस्ट २१ मा उक्त राहदानी जारी गरिएको थियो।
'द प्रिन्ट' ले भने भारतीय सुरक्षा निकायका अधिकारीलाई उद्धृत गर्दै दासको राहदानी, आधार कार्ड र विद्यालयको प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक परेको जनाएको छ।
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केले भने सात वर्षअघि यही सरकारले जारी गरेको राहदानीमा अहिले आएर कसरी समस्या देखियो भनी प्रश्न गरेका छन्।
कक्रोच जनता पार्टी स्थापना भएपछि र दास त्यसको प्रमुख अनुहार बनेपछि मात्रै सरकारले उनको राहदानीमा समस्या देखेको दिप्केको आरोप छ।
यसअघि गत अक्टोबर ३० मा मद्रास उच्च अदालतले दास र उनको परिवारको पृष्ठभूमि छानबिन गर्न माग गर्दै दायर भएको एउटा रिटमा सम्बन्धित सरकारी निकायलाई सूचना जारी गरेको थियो।
उक्त रिटमा दासका आमाबाबुको पृष्ठभूमि छानबिन गर्न र त्यस आधारमा उनको राहदानी तथा आधार कार्ड खारेज गर्न माग गरिएको छ।
भारतीय न्यायालयका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाउँदै उनका सामाजिक सञ्जालका खाता बन्द गर्नसमेत रिटमा माग गरिएको छ। अदालतले भने ती आरोपका सम्बन्धमा कुनै निष्कर्ष दिइसकेको छैन।
भारतमा गत मे महिनाबाट कक्रोच जनता पार्टीका नाममा युवा अभियान सुरू भएको हो।
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले रोजगारी नपाएका युवाहरूलाई साङ्ला (कक्रोच) सँग तुलना गरेपछि त्यसको विरोधमा यो अभियान सुरू भएको थियो।
अभिजित दिप्केले व्यंग्यात्मक रूपमा सामाजिक सञ्जालबाट सुरू गरेको यो अभियान छोटो समयमै भारतीय युवाहरूमाझ लोकप्रिय भएको थियो।
बेरोजगारी, बढ्दो महँगी, सरकारी जागिरका लागि लिइने परीक्षामा हुने अनियमितता लगायत विषयमा असन्तुष्ट भारतीय युवाहरू यो अभियानमा जोडिएका थिए। सौरभ दास यही अभियानका एक प्रमुख अनुहार हुन्।
नेपालमा जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तन र बालेन शाहको उदयलाई जोड्दै भारतीय सांसद मोइत्राले अहिले दासमाथि मोदी सरकारले गरेको व्यवहारबारे प्रश्न उठाएकी हुन्।
पश्चिम बंगालको कृष्णनगर निर्वाचन क्षेत्रबाट लोकसभामा प्रतिनिधित्व गर्ने मोइत्रा मोदी सरकारकी कटु आलोचक मानिन्छिन्।
दासकी आमा नेपाली मूलकी भएकै कारण उनलाई विदेश जान रोकिएको भन्ने मोइत्राको आरोपबारे भने भारतीय सरकारी निकायबाट पुष्टि भएको छैन।
***