नेपाल–भारत सम्बन्धका विभिन्न आयाम समेटेर तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताएका छन्।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा सोमबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिश्रीले यस्तो अभिव्यक्ति दिएपछि भारतीय पत्रकारले नै उनीमाथि प्रतिप्रश्न गरेका थिए।
उनीहरूको प्रश्न थियो– दुवै देशको सहमतिमा गठन भएको प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदनलाई दुई देशका प्रधानमन्त्रीले जारी गरेको एउटा वक्तव्यले प्रतिस्थापन गर्न सक्छ?
सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा मिश्रीलाई दुई जना पत्रकारले इपिजी प्रतिवेदनबारे प्रश्न गरेका थिए।
सुरूमा एनडिटिभीका पत्रकारले सीमा विवाद समाधान गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको सन्दर्भमा इपिजी प्रतिवेदनको प्रसंग उठाएका थिए।
मिश्रीले त्यसको जबाफ दिँदै भने, 'त्यो विगतको कुरा हो। हामी यो विषयमा भविष्यउन्मुख दृष्टिकोण अपनाउन खोजिरहेका छौं। हामी पछाडि फर्केर हेरिरहेका छैनौं। त्यसैले मेरो विचारमा तपाईंले उल्लेख गर्नुभएको प्रतिवेदन सान्दर्भिक छैन। त्यो विगतसँग सम्बन्धित छ।'
उनले सोमबार दुवै देशका प्रधानमन्त्रीले घोषणा गरेको संयुक्त भिजन दस्तावेज अनुसार अब अगाडि बढ्नुपर्ने बताए।
मिश्रीको यो जबाफपछि 'द हिन्दू' का पत्रकारले फेरि इपिजी प्रतिवेदनकै विषय उठाए।
'इपिजी प्रतिवेदनको कुरा दस वर्षअघि दुवै देशको सहमतिमा अघि बढेको थियो। प्रतिवेदन तयार भएको छ र हामीले बुझेसम्म त्यो काठमाडौंको एउटा दराजमा थन्किएको छ। अहिले तपाईं भिजन दस्तावेजको कुरा गर्दै हुनुहुन्छ,' ती पत्रकारले भने।
उनले अगाडि प्रश्न गरे, 'के संयुक्त भिजन दस्तावेजले इपिजी प्रतिवेदनलाई प्रतिस्थापन गरेको हो? के इपिजी प्रतिवेदन अब अनावश्यक भएको हो? वा तपाईंले भन्नुभएजस्तै असान्दर्भिक भइसकेको हो? किनभने त्यो एउटा प्रतिवेदन हो, अहिले हामीसँग संयुक्त भिजन वक्तव्य छ। के यो वक्तव्यले त्यो प्रतिवेदनलाई प्रतिस्थापन गर्न सक्छ? मेरो प्रश्न यही हो।'
मिश्रीले आफ्नो जबाफ क्रममा इपिजी प्रतिवेदन कहाँ छ भन्ने आफूलाई थाहा नभएको बताए।
'प्रतिवेदन कहाँ छ भन्ने जानकारी तपाईंलाई रहेछ। त्यो प्रतिवेदन ठ्याक्कै कहाँ छ भन्ने मलाई थाहा छैन। तपाईंले प्रतिवेदनका लागि धेरै विशेषण पनि प्रयोग गर्नुभएको छ। म त्यसमा जान चाहन्नँ,' मिश्रीले भने, 'मैले अघिल्लो प्रश्नको जबाफमा भनेझैं त्यो विगतको कुरा हो। हामी विगततिर हेरिरहेका छैनौं। हामी भविष्यतिर हेरिरहेका छौं।'
उनले संयुक्त भिजन दस्तावेजले नेपाल–भारत सम्बन्धका सबै पक्ष समेटेको उल्लेख गर्दै सीमा विवादसम्बन्धी काम अगाडि बढाउन पनि त्यसमा परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको बताए।
'हामी दुई देशको सम्बन्धलाई भविष्यउन्मुख, रचनात्मक र प्रगतिशील बनाउने संयुक्त भिजन दस्तावेजको भावना अनुसार नै सीमासम्बन्धी विषयलाई पनि हेर्नेछौं,' उनले भने, 'त्यसैले हामी अगाडि हेर्छौं, पछाडि फर्केर हेर्दैनौं, विगततिर हेर्दैनौं।'
भारतीय विदेशसचिव मिश्रीको यो भनाइबाट आठ वर्षदेखि इपिजी प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको भारतले अब त्यसको सान्दर्भिकतामाथि नै प्रश्न उठाएको बुझिन्छ।
इपिजी नेपालले एकतर्फी रूपमा गठन गरेको समूह होइन। यसको प्रतिवेदन पनि नेपालका विज्ञहरूले मात्र तयार पारेका होइनन्।
नेपाल–भारत सम्बन्धलाई समयानुकूल बनाउन विगतका सन्धि–सम्झौता पुनरवलोकन गर्ने र दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने उद्देश्यले सन् २०१६ मा दुवै देशको सहमतिमा इपिजी गठन गरिएको थियो।
त्यति बेला पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नै थिए।
आठ सदस्यीय उक्त समूहमा नेपाल र भारतका चार–चार जना प्रतिनिधि थिए। नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई सदस्य थिए। भारतका तर्फबाट उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती सदस्य थिए।
उनीहरूले दुई वर्ष लगाएर काठमाडौं र नयाँदिल्लीमा नौवटा बैठक गरे। सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि सीमा व्यवस्थापन, व्यापार, पारवहन र जलस्रोतसम्मका विषयमा छलफल गरे।
अन्ततः सन् २०१८ जुन ३० मा उनीहरूले सर्वसम्मतिमा एउटै प्रतिवेदन तयार पारे।
नेपाल र भारतका विज्ञहरूले आ–आफ्नो देशको अडान राखेर दुईवटा छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिएनन्। दुवै देशका विज्ञहरू एउटै प्रतिवेदनमा सहमत भएका थिए।
उक्त प्रतिवेदनमा के–के सिफारिस छन् भन्ने अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। त्यति बेला सार्वजनिक भएका विवरण अनुसार भने इपिजीले सन् १९५० को सन्धिलाई नयाँ सन्धिले प्रतिस्थापन गर्नेदेखि खुला सीमा व्यवस्थित गर्नेसम्मका सिफारिस गरेको थियो।
दुवै देशका प्रधानमन्त्रीले उक्त प्रतिवेदन बुझ्ने समझदारी थियो। तर भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म प्रतिवेदन बुझेका छैनन्।
सोमबार बालेन र मोदीले जारी गरेको संयुक्त भिजन दस्तावेजको उद्देश्य पनि इपिजी गठन गर्दाको उद्देश्यसँग मिल्दोजुल्दो छ। दुई देशबीचको सम्बन्धलाई समसामयिक राजनीतिक, आर्थिक र प्राविधिक यथार्थअनुकूल बनाउनुपर्ने उक्त दस्तावेजमा उल्लेख छ। यसका लागि सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान कानुनी व्यवस्थाको आपसी सहमतिमा पुनरवलोकन गर्ने भनिएको छ।
इपिजी गठनको एउटा मुख्य उद्देश्य पनि यही थियो।
सन् १९५० को सन्धि पुनरवलोकनबारे सोमबार पत्रकार सम्मेलनमा मिश्रीलाई छुट्टै प्रश्न पनि सोधिएको थियो।
त्यसको जबाफमा उनले सन्धि पुनरवलोकन गर्ने विषय नयाँ नभएको स्वीकार गरे। यसअघि पनि दुई देशबीचका दस्तावेजमा यो विषय पर्दै आएको तर विभिन्न कारणले छलफल अघि बढ्न नसकेको उनले बताए।
यसपटक कुन संयन्त्रमार्फत सन्धि पुनरवलोकन गर्ने भन्ने पनि तय भइनसकेको उनले जानकारी दिए।
'नेपालले प्राथमिकतामा राखेका केही विषय होलान्। हामीले प्राथमिकतामा राखेका पनि केही विषय होलान्। सन्धि पुनरवलोकन क्रममा हामी ती विषय हेर्नेछौं,' मिश्रीले भने, 'यसका लागि दुवै पक्षले केही गृहकार्य गर्नेछन् र कुन संयन्त्रमार्फत यो विषय अगाडि बढाउने भन्ने आपसी सहमतिमा तय गर्नेछन्।'
उनको यो भनाइले अर्को प्रश्न उठाउँछ।
दुवै देशले अब गर्ने भनिएको गृहकार्यकै लागि १० वर्षअघि इपिजी गठन गरिएको होइन र?
इपिजीले दुई वर्ष लगाएर त्यो गृहकार्य पूरा गरिसकेको छ। दुई देशका विज्ञहरूले साझा निष्कर्षसहित प्रतिवेदन तयार पारिसकेका छन्। अब उक्त प्रतिवेदनलाई असान्दर्भिक मानेर फेरि सुरूदेखि नै गृहकार्य गर्ने हो? वा त्यसमा भएका सिफारिसलाई आधार मानेर अघि बढ्ने हो?
संयुक्त भिजन दस्तावेजमा यसबारे केही उल्लेख छैन। इपिजी प्रतिवेदनबारे त्यसमा एक शब्द पनि परेको छैन।
भारतीय विदेश सचिवले उक्त प्रतिवेदन सान्दर्भिक नरहेको बताइसकेका छन्। यसबारे नेपाल सरकारको औपचारिक धारणा के हो भन्ने स्पष्ट भएको छैन।
इपिजी प्रतिवेदन कार्यान्वयन गर्न दुवै सरकार बाध्य छैनन्। उनीहरूले त्यसका सिफारिस स्वीकार वा अस्वीकार गर्न सक्छन्। तर त्यसका लागि पहिले प्रतिवेदन बुझ्न र त्यसमा भएका सिफारिसमाथि छलफल गर्न सकिन्छ।
यही सन्दर्भमा 'द हिन्दू' का पत्रकारले सोमबार नयाँदिल्लीमा उठाएको प्रश्न नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ— दुवै देशका विज्ञहरूले दुई वर्ष लगाएर सर्वसम्मतिमा तयार पारेको प्रतिवेदनलाई दुई प्रधानमन्त्रीले जारी गरेको एउटा वक्तव्यले प्रतिस्थापन गर्न सक्छ?
***
यो पनि पढ्नुहोस्: