कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छन्।
तर आइतबारसम्म केही कम्पनीहरूको मात्रै वित्तीय विवरण सार्वजनिक भएको छ। जसमध्ये सानिमा बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश क्षमता उच्च देखिएको छ।
यी दुवै कम्पनीको शुक्रबार वित्तीय विवरण सार्वजनिक भएको हो।
हेरौं, वित्तीय विवरण आएपछि यी कम्पनीको सेयरमा कस्तो प्रभाव देखियो।
तेस्रो त्रैमासमा गुराँस लघुवित्तको नाफा ६७ प्रतिशतले बढेर चार करोड रूपैयाँ पुगेको छ।
यसको खुद ब्याज आम्दानी पनि करिब ६७ प्रतिशतले नै वृद्धि भएको छ। यस्तो आम्दानी आठ करोड ९२ लाख रूपैयाँबाट बढेर १३ करोड ३४ लाख रूपैयाँ पुगेको छ।
यसले प्रावधानमा ५० लाख रूपैयाँ राखेको छ। खराब कर्जा भने सामान्य बढेको छ। यसअघि ३.०१ प्रतिशत रहेकामा हाल यस्तो कर्जा कुल कर्जाको ३.४१ प्रतिशत पुगेको छ।
यसको प्रतिसेयर आम्दानी ४०.६२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १६८ रूपैयाँ ९१ पैसा छ।
गुराँस लघुवित्तले यो आर्थिक वर्षमा करिब ३०.३९ प्रतिशत बराबर लाभांश दिन सक्ने क्षमता देखाएको छ। तेस्रो त्रैमाससम्म वार्षिकीकरण गरिएको यस्तो क्षमता ३०.३९ प्रतिशत देखिएको हो। यो वर्षको दोस्रो त्रैमासमा पनि यस्तै क्षमता देखिएको थियो।
यसले विगत दुई वर्षमा वार्षिक औसत १५ प्रतिशत बराबर लाभांश दिएको छ। दुवै वर्ष यसले बोनस सेयरलाई प्राथमिकता दिएको थियो।
शुक्रबार विहान वित्तीय विवरण सार्वजनिक भए पनि यसको सेयर मूल्य घट्यो। मूल्य बढ्ने प्रयासमा रहे पनि यो प्रयास सफल हुन सकेन। भाउ १८३६ रूपैयाँसम्म पुगेको थियो। बजार बन्द हुँदा १७९३ रूपैयाँमा मूल्य भयो।
यसको मूल्य अहिले करिब १७ महिनायताकै न्यून विन्दुमा छ।
केही वर्षअघिसम्म यसको मूल्य प्रतिकित्ता करिब ३५०० रूपैयाँसम्म पुगेको थियो। कम चुक्ता पुँजी, उच्च लाभांश क्षमताको कारण पनि यसको मूल्य उच्च तहमै रहिरहेको छ।
हाल यसको चुक्ता पुँजी १३ करोड रूपैयाँ छ। चार लाख कित्ता (चार करोड रूपैयाँ) बराबरको सेयर सर्वसाधारणसँग छ।
त्यस्तै सानिमा बैंकको तेस्रो त्रैमासमा नाफा ४२ प्रतिशतले बढेर दुई अर्ब ३५ करोड रूपैयाँ पुगेको छ।
गत वर्ष यसको नाफा एक अर्ब ६५ करोड रूपैयाँ थियो।
खुद ब्याज आम्दानी पनि करिब २१ प्रतिशतले नै वृद्धि भएको छ। यस्तो आम्दानी पाँच अर्ब १६ करोड रूपैयाँ पुगेको छ।
सानिमाले यसअघि एक अर्ब ४० करोड रूपैयाँ प्रावधान राखेको यस पटक एक अर्ब ३६ करोड रूपैयाँ राखेको छ। खराब कर्जा यस अघिदेखि नै १.६० प्रतिशत छ।
यसको प्रतिसेयर आम्दानी २२.९२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७९ रूपैयाँ ५५ पैसा छ।
सानिमा बैंकले यो आर्थिक वर्षमा करिब १८.५७ प्रतिशत बराबर लाभांश दिन सक्ने क्षमता देखाएको छ। तेस्रो त्रैमाससम्म वार्षिकीकरण गरिएको यस्तो क्षमता १८.५७ प्रतिशत देखिएको हो।
गत वर्षको तेस्रो त्रैमासमा यस्तो क्षमता १८.९२ प्रतिशत थियो। चालु वर्षको दोस्रो त्रैमासमा १६.९५ प्रतिशत क्षमता देखिएको थियो।
यसले विगत दुई वर्षमा वार्षिक औसत ६.३१ प्रतिशत बराबर लाभांश दिएको छ। दुवै वर्ष यसले नगद लाभांश दिएको थियो।
शुक्रबार बिहान वित्तीय विवरण सार्वजनिक भएपछि सानिमा बैंकको सेयर मूल्य बढेको छ।
शुक्रबार मूल्य सात रूपैयाँले बढेर ३४९ रूपैयाँमा अन्तिम कारोबार भएको छ।
केही समयदेखि यसको सेयर मूल्य ३०० देखि ३५० रूपैयाँमा रहँदै आएको छ। केही वर्षअघिसम्म यसको मूल्य प्रतिकित्ता करिब ५५० रूपैयाँसम्म पुगेको थियो।
पछिल्लो समय राम्रो लाभांश क्षमता देखिएको र वाणिज्य बैंकहरूमा मध्यम मूल्य रेन्जको बैंक भएकाले पनि यसमा आकर्षण देखिँदै आएको छ।