अहिले विभिन्न कम्पनीहरूको वित्तीय विवरण प्रकाशनको क्रम चलिरहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले त्रैमास सकिएको १५ दिनमा वित्तीय विवरण प्रकाशन गरेपछि यो क्षेत्रको भने विवरण लगभग आइसकेको छ।
वित्तीय विवरणमा सेयर लगानीकर्ताहरूलाई अहिले सबभन्दा धेरै चासो लाग्ने भनेकै वितरण योग्य नाफाको हो।
नाफा त बैंकहरूको उठ्ला जस्तो लागेको तर उठिनसकेको ब्याज आम्दानीले पनि बढ्न सक्छ। तर यस्तो ब्याजका लागि राख्नुपर्ने नियामकीय प्रावधान कटाएर मात्रै वितरण योग्य नाफा देखाउन मिल्छ।
लगानीकर्ताले प्रतिफल पाउने पनि यही वितरण योग्य नाफाबाट नै हो। त्यसैले पनि यसमा लगानीकर्ताहरूको विशेष चासो हुन्छ।
आज हामीले उच्च लाभांश क्षमता देखिएका दुई विकास बैंकको चर्चा गरेका छौं — लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक।
लुम्बिनी विकास बैंकको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा नाफा १४ गुणाले बढेको छ।
राष्ट्रिय स्तरको विकास बैंक लुम्बिनीको तेस्रो त्रैमासमा नाफा ५६ करोड रूपैयाँ पुगेको हो। यसअघि आर्थिक वर्ष २०८१–८२ यसको नाफा चार करोड रूपैयाँ थियो।
ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी बढ्नु, यसअघि कर्जाका लागि कम प्रावधान राखेका कारण नाफा बढ्न सहयोग पुगेको हो।
लुम्बिनीले यसअघि करिब ९५ करोड रूपैयाँ प्रावधानमा राखेको थियो। यस पटक २४ करोड रूपैयाँ राखेको छ।
यसको खुद ब्याज आम्दानी एक अर्ब ३५ करोड रूपैयाँबाट ७ प्रतिशत बढेर एक अर्ब ४५ करोड रूपैयाँ पुगेको छ।
यसको खराब कर्जामा सामान्य सुधार भइरहेको देखिन्छ। यसअघि खराब कर्जा ७.१९ प्रतिशत रहेकोमा हाल यस्तो कर्जा कुल कर्जाको ६.४९ प्रतिशत छ।
यसको प्रतिसेयर आम्दानी एक रूपैयाँ ८३ पैसा रहेकामा बढेर २० रूपैयाँ ६७ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ भने २०५ रूपैयाँ छ।
लुम्बिनीले यो वर्ष करिब १७.४८ प्रतिशत बराबर लाभांश दिनसक्ने क्षमता देखाएको छ। यसले ५२ करोड रूपैयाँ लाभांश क्षमता देखिएको हो। विकास बैंकहरूमै यो क्षमता सबैभन्दा धेरै हो।
यसले विगत तीन वर्षमा वार्षिक औसत ९.१६ प्रतिशत बराबर लाभांश दिएको छ।
बुधबार भने लुम्बिनीको सेयर मूल्य चार रूपैयाँ बढेर ४९१ रूपैयाँ पुगेको छ।
यसको मूल्य केही समयदेखि ४५० देखि ५५० रूपैयाँ रहेर तलमाथि भइरहेको छ। करिब दुई वर्षअघि यसको मूल्य ७४४ रूपैयाँसम्म पुगेको थियो।
मंगलबार यसको सेयर मूल्यले दुवैतर्फ धागो भएको सानो शरीरको मैनबत्ती (दोजी) बनाएको थियो। बुधबार लामो शरीर भएको हरियो मैनबत्ती बनेको छ। बुधबारको मैनबत्तीको शरीरले मंगलबारको मैनबत्तीको शरीर पूरै ढाकेको (इनगल्फ गरेको) छ।
बिहीबार बुधबारको सुरू मूल्यभन्दा माथिबाटै सेयर कारोबार भयो र बुधबारको भन्दा अन्तिम मूल्य माथि नै रहेमा केही दिन यसको सेयर मूल्य बढ्न सक्छ। यसो भएमा थ्री आउटसाइड अप बुलिस आकृति बन्नेछ।
यसले मूल्य बढ्ने संकेत गर्छ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासमा नाफा १५ करोड ५७ लाख रूपैयाँ पुगेको छ। कोशी प्रदेश कार्यक्षेत्र भएको यस विकास बैंक गत आर्थिक वर्षको यही अवधिमा ६३ लाख रूपैयाँ नोक्सानमा थियो।
यसको खुद ब्याज आम्दानी पनि २८ प्रतिशत बढेको छ। यस्तो आम्दानी ४१ करोड रूपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र यसअघि राखिएको प्रावधान रकमबाट केही रकम फिर्ता ल्याएपछि नाफामा सहयोग पुगेको हो।
यसअघि १६ करोड रूपैयाँ प्रावधान राखेको एक्सेलले यस पटक एक करोड २४ लाख रूपैयाँ फिर्ता (राइट ब्याक गरेको) ल्याएको छ।
खराब कर्जामा पनि केही सुधार भएको छ। यसअघि ८.४६ प्रतिशत रहेको खराब कर्जा घटेर ६.५९ प्रतिशत भएको छ।
यसको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ६१ पैसा छ। यसअघि यो ऋणात्मक थियो।
त्यस्तै, प्रतिसेयर नेटवर्थ १८४ रूपैयाँ छ।
एक्सेलले यो आर्थिक वर्षमा करिब १५.३९ प्रतिशत बराबर लाभांश दिन सक्ने क्षमता देखाएको छ। गत वर्ष तेस्रो त्रैमासमा भने यस्तो क्षमता ०.५८ प्रतिशत थियो।
यसले विगत तीन वर्षमा वार्षिक औसत १३.१९ प्रतिशत बराबर लाभांश दिएको छ।
केही समयदेखि यसको सेयर मूल्य ५५० रूपैयाँदेखि ६५० रूपैयाँमा रहँदै आएको छ। केही वर्षअघि यसको मूल्य प्रतिकित्ता करिब ११५५ रूपैयाँसम्म पुगेको थियो।
बुधबार भने एक्सेलको सेयर मूल्य ६ रूपैयाँ बढेर ५८२ रूपैयाँ पुगेको छ।
बुधबार यसको सेयर मूल्यमा उच्च उतारचढाव देखियो। कारोबार अवधिमा मूल्य ६५३ रूपैयाँसम्म पुगेको थियो। पटक पटक ५५० रूपैयाँ आसपासमा टेवा पाएर बढ्ने प्रयास गर्दै आएको एक्सेलको सेयर बुधबार पनि ५४७ रूपैयाँबाट बढ्न थालेको हो।
मंगलबार र बुधबार दुवै दिन यसको कारोबारले ठूलो शरीर भएको हरियो मैनबत्ती बनायो।
बुधबार मैनबत्तीको माथिल्लो धागो निकै लामो बनेको छ। तर अन्तिम समयमा आइपुग्दा मूल्य केही स्थिर रह्यो।
मूल्य बढ्नुपर्छ भन्नेहरू नै यसमा हावी भएका देखिन्छन्। यस दिन कारोबार रकम पनि बढेको छ।