बजेटले सवारी साधनमा तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर दोब्बर पुर्याउने घोषणा गरेको छ।
योसँगै निर्जीवन बीमा कम्पनीहरूको सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको छ।
बुधबार सेयर बजार सामान्य दर (२.६६ अंक) मा बढ्दा निर्जीवन बीमा कम्पनीहरूको समूहगत सूचक ३८० अंक (३.३७ प्रतिशत) ले बढेर ११६३७ विन्दुमा पुगेको छ।
एक वर्षको अन्तरालमा १३७०५ विन्दुसम्म पुगेको निर्जीवन बीमा कम्पनीहरूको मूल्यमा पछिल्लो समय सुस्तता छाएको थियो।
बीमा प्राधिकरणले दुई अर्ब ५० करोड रूपैयाँ चुक्ता पुँजी तोकेसँगै कम्पनीहरूको सेयर मूल्य पनि न्यून विन्दुको तहमा आएर बसेको थियो।
न्यून मूल्यमै कारोबार भइरहेका बेला अब व्यवसाय विस्तारको नयाँ आधार देखिएपछि लगानीकर्ताहरूले यसलाई सम्भावित आम्दानी वृद्धिको संकेतका रूपमा लिएका छन्।
यही कारण यो क्षेत्रका कम्पनीहरूको मूल्यमा सुधार देखिन थालेको छ।
बुधबार निर्जीवन बीमा कम्पनीहरूमा नेपाल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य उच्चले बढेका छन्। यी कम्पनीहरूको मूल्य ५.३१ देखि ६.१७ प्रतिशतसम्म बढेको हो।
सरकारले तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाख रूपैयाँबाट १० लाख रूपैयाँ पुर्याएको छ। बीमांक रकम भनेको यस्तो क्षतिमा बेहोरिने रकम हो।
यसले निर्जीवन बीमा कम्पनीहरूले तेस्रो पक्ष बीमामा लिने शुल्क बढ्ने र व्यवसायमा समेत वृद्धि हुने भएकोले आकर्षण बढेको हो। यस्तो शुल्कमा ३० प्रतिशतदेखि सोभन्दा धेरैको वृद्धि हुन सक्ने बीमा प्राधिकरणले उल्लेख गरेको छ।
यस्तो शुल्क तोक्ने काम भने दर निर्धारण समितिले गर्छ।
अहिले तेस्रो पक्ष बीमामा निजी सवारी धनीले सवारी साधन अनुसार वार्षिक करिब १५२० देखि ६००० रूपैयाँभन्दा केही बढीसम्म तिरिरहेका छन्।
बजेटले गरेको अन्य व्यवस्थाले समेत निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्ने सम्भावना छ। किनभने दुर्घटना बीमा, घातक रोग बीमा र ढुवानी सेवा बीमालाई पनि बीमाको दायरामा ल्याउने घोषणा गरेको छ।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन कम्पनीहरूले कुल ३७ अर्ब रूपैयाँ बीमा शुल्क (प्रिमियम शुल्क) आर्जन गरेका छन्।
यसमध्ये मोटर बीमाबाट मात्रै कम्पनीहरूले ११ अर्ब ५० करोड रूपैयाँ यस्तो आर्जन गरेका छन्।
कम्पनीहरूको मोटर बीमाबाट हुने शुल्क आर्जनको करिब २६ प्रतिशत तेस्रो पक्ष बीमाबाट आउने गरेको बीमा प्राधिकरणले उल्लेख गरेको छ। अर्थात् करिब तीन अर्ब रूपैयाँ बराबरको आम्दानी तेस्रो पक्ष बीमाबाट मात्रै हुने गरेको छ।
यस्तो शुल्कमा ३० प्रतिशत मात्रैले वृद्धि भएमा पनि कम्पनीहरूको तेस्रो पक्ष बीमाबाट हुने कुल आम्दानी ९० करोड रूपैयाँले बढ्न सक्छ।
मोटर बीमाबाट आम्दानी गर्ने प्रमुख पाँच कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमाल एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स हुन्।
सगरमाथाको यस्तो आम्दानी एक अर्ब ६३ करोड, शिखरको एक अर्ब ४४ करोड, हिमालयन एभरेस्टको एक अर्ब १७ करोड, सिद्धार्थको एक अर्ब १४ करोड र आइजिआईको एक अर्ब रूपैयाँ पुगेको छ।
तेस्रो पक्ष बीमाको शुल्क वृद्धि भएमा अहिले यो क्षेत्रको व्यवसायमा ठूलो हिस्सा राख्दै आएका यी कम्पनीहरूलाई नै धेरै लाभ हुन सक्ने देखिन्छ।
तर बीमांक रकम बढेपछि दाबी भुक्तानी पनि बढ्न सक्छ। त्यसैले शुल्क बढेर आम्दानी बढे पनि त्यसको सबै प्रभाव नाफामा नदेखिन सक्छ।