सेयर बजारको प्रवृत्ति अहिले स्पष्ट छैन। यस्तोमा सेयर लगानीकर्ताहरूले अहिले सेयर किनिरहेका होलान् कि बेचिरहेका?
आज हामी यही कुरा तीन सूचकबाट हेर्छौं।
पहिले कुरा गरौं, मनी फ्लो इन्डेक्सबाट।
मनी फ्लो इन्डेक्सले सूचक वा मूल्य र कारोबार भएका सेयरको परिमाणको आधारमा गणना गरिन्छ।
यसमा शून्यदेखि एक सय विन्दुसम्म मान निस्किन्छ। यो शून्यदेखि एक सयसम्मको मान कसरी घटबढ भइरहन्छ, त्यसैको आधारमा लगानीकर्ताहरू किन्ने (एकुमुलेसन) वा बेच्ने (डिष्ट्रिब्युसन), के गरिरहेका छन् भनेर विश्लेषण गरिन्छ।
यसले मूल्य वा सूचकको आधारमा मात्रै बजारको प्रवृत्ति नहेरेर कारोबार परिणाम पनि गणनामा प्रयोग गर्छ। यो सूचकले बजारमा भित्रभित्रै के भइरहेको छ भनेर पनि देखाउँछ।
यसको मान ० देखि २० आए बजारमा उच्च दरमा बिक्री बढेको, ८० देखि १०० बीच रहे उच्च दरमा खरिद भइरहेको संकेत गर्छ। २० देखि ८० भित्र रहे बजारमा सन्तुलन नै रहेको देखाउँछ।
बिहीबार यस्तो मान ६१ थियो भने शुक्रबार ५५। यसले बजारमा किनबेच सन्तुलन नै भए पनि बिक्री बढिरहेको देखाउँछ।
अर्को सूचक हो एकुमुलेसन डिष्ट्रिब्युसन लाइन (एडी लाइन)।
एडी लाइनले पनि बजारमा बिक्री वा खरिददारी प्रवृत्ति कुन बढ्दैछ भनेर देखाउँछ।
एकुमुलेसन हुनु भनेको बजारमा पैसा आइरहेको छ भन्ने हो। डिष्ट्रिब्युसनले बजारबाट पैसा बाहिरिइरहेको संकेत गर्छ।
बजार वा सेयर मूल्यको उच्च, न्यून र बन्द विन्दु र सो दिन कारोबार भएको सेयर संख्याको आधारमा यसको गणना गरिन्छ।
शुक्रबार यसको मान ४० लाखले ऋणात्मक छ। यसले बजारमा बिक्री बढिरहेको संकेत गरिरहेको छ। तर बिहीबार यो मान ५६ लाखले ऋणात्मक थियो। यसले बिक्री दबाब वा भनौं डिष्ट्रिब्युसन प्रवृत्तिमा सुधार भइरहेको संकेत गरिरहेको छ।
अन्तिममा हेरौं, एड्भान्स डिक्लाइन (एडी) लाइन।
कारोबारमा आएकामध्ये मूल्य बढेका कम्पनीको संख्या र घटेका कम्पनीको संख्याको आधारमा यो सूचक निकालिन्छ।
एड्भान्स डिक्लाइन लाइनलाई बजारको शक्ति मापन गर्ने एक महत्त्वपूर्ण प्राविधिक औजार मानिन्छ।
यो लाइनमा हरेक दिन कति वटा कम्पनीको मूल्य बढ्दा कति वटाको घटेको छ र यो अन्तर कति छ भनेर हेरिन्छ। र, हरेक दिन पुरानो मानलाई नयाँ मानले जोड्दै वा घटाउँदै हेरिन्छ।
विगत ११ दिनयताको तथ्यांक अनुसार गत बिहीबार यो लाइन १६१ रहेकामा शुक्रबार ५० मा छ। यसले बजारको शक्ति कमजोर भइरहेको संकेत गरिरहेको छ।