विगत तीन कारोबार दिनदेखि नेप्से परिसूचक घटिरहेको छ। तीन दिनमा बजार ४५ अंकले घटेको छ।
बजार घट्नलाई केही न केही कारण चाहिन्छ नै।
अहिलेको कारण भने निकै रोचक छ।
पूर्वगृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। यससँगै उनी गृह मन्त्रालय फर्किन्छन् कि भन्ने त्रास सेयर बजारमा देखिएको ब्रोकरहरू बताउँछन्।
'आज (सोमबार) सेयर बजार घट्ने कारण यही नै बन्यो,' एक ब्रोकरले भने।
सुधनको सम्पत्ति र सेयर लगानीमा प्रश्न उठेपछि उनले गृहमन्त्री पद छाडेका थिए।
सुधन गृहमन्त्री हुँदा व्यवसायी पक्राउ र धरपकड बढेपछि त्यसको प्रभाव सेयर बजारमा परेको थियो।
यो कारण सोमबारका लागि पर्याप्त भए पनि बजेटदेखि नै सेयर बजार सकारात्मक बन्न सकिरहेको छैन। विशेष गरेर पुँजीगत लाभकर बढेपछि बजारमा नकारात्मक प्रभाव पर्दै आएको हो।
बजेटले अन्तिम करको रूपमा पुँजीगत लाभकर हुने घोषणा गर्दै पुँजीगत लाभकर ५ देखि ७.५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशतदेखि १० प्रतिशत पुर्याएको छ।
यी कारणले अहिले बजारमा नकारात्मक प्रभाव परेको छ। लगानीकर्ताहरूको आत्मविश्वास बढ्न सकेको छैन।
कारोबार रकम पनि दस दिनयताकै न्यून छ। दस दिनपछि कारोबार रकम चार अर्ब रूपैयाँमा सीमित भएको छ।
अहिले के देखिन्छ परिदृश्य?
बजारले महत्वपूर्ण टेवा पाइरहेको स्थानबाट अहिले तल ओर्लिएको छ। ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाबीचको दुरी कायमै छ। यसले बुलिस प्रवृत्ति नसकिएको संकेत गरिरहेकै छ।
तर, २० दिने मुभिङ एभरेज रेखामा नेप्सेले पाइरहेको टेवाले भने भरथेग गर्न नसकेको देखिन्छ। नेप्से २० दिने रेखाभन्दा तल ओर्लिएको छ। यसको अर्थ अब नेप्सेको लागि २ सय दिने मुभिङ एभरेज रेखा टेवाको रूपमा रहन सक्छ।

नेप्सेको १४ दिने उतारचढावका आधारमा निकालिएको रिलेटिभ स्ट्रेन्थ (आरएसआई) ले बजारमा किनबेच सन्तुलित नै रहेको देखाएको छ।
अहिले यो सूचक स्केलको ४६.६ मा छ। केही दिनअघि ६५ सम्म पुगे पनि शुक्रबार घट्दै ४१.५१ सम्म आएको थियो। यसमा सुधार देखिएको छ।
बजारमा बढ्नेभन्दा घट्ने कम्पनीको संख्या केही दिनदेखि बढ्दो छ। सोमबार एड्भान्स र डिक्लाइन रेसियो (अनुपात) एकभन्दा कम (०.१९) छ।
यसले सोमबार बजार बियरिस रहेको संकेत गर्छ। यो अनुपात एकभन्दा धेरै भए बजार बुलिस प्रवृत्तिमा रहेको र कम भए बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ।

त्यस्तै, १२ दिन यताको एड्भान्स र डिक्लाइन लाइन पहिलो पटक नकारात्मक भएको छ। यो सूचक १२८ ले ऋणात्मक छ।
सूचक वा मूल्य र कारोबार भएका सेयरको परिमाणको आधारमा गणना गरिने मनी फ्लो इन्डेक्स सोमबार ४९ मा छ।
यसको मान यदि ० देखि २० सम्म आए बजारमा उच्च दरमा बिक्री बढेको, ८० देखि एक सयबीच रहे उच्च दरमा खरिद भइरहेको संकेत गर्छ। यदि २० देखि ८० भित्र रहे बजारमा सन्तुलन नै रहेको देखाउँछ।
बिहीबार यस्तो मान ६१ थियो भने शुक्रबार ५५ मा थियो।
एकुमुलेसन डिस्ट्रिब्युसन लाइनले केही दिनदेखि बजारमा डिस्ट्रिब्युसन भएको देखाइरहेको छ। एकुमुलेसन हुनु भनेका बजारमा पैसा आइरहेको छ भन्ने हो भने डिस्ट्रिब्युसन बजारबाट पैसा बाहिरिरहेको छ भनेर संकेत गर्छ।
विगत पाँच दिनमा बजारमा भित्रेको भन्दा बाहिरिएको पैसा धेरै भएको संकेत यसले गरिरहेको छ। कुल पाँच दिनको यस्तो मान ६० लाखले ऋणात्मक छ।
सोमबारको यो मान ३४ लाखले ऋणात्मक छ। बिहीबार ५६ लाख, शुक्रबार ४० लाखले ऋणात्मक थियो। यो प्रवृत्ति क्रमशः ५६ लाख हुँदै ३४ लाखमा सीमित भएकोले यसमा सुधार हुन थालेको छ।
निष्कर्षः अल्पकालीन परिस्थिति हेर्दा बजार अहिले दबाबमा छ। पैसा बाहिरिने प्रवृत्ति देखिएको छ। तर बिक्रीको दबाब क्रमशः कम हुँदै गइरहेको तथा दीर्घकालीन बुलिस प्रवृत्ति यथावत रहेकाले बजार तत्कालै बियरिस प्रवृत्तिमा प्रवेश गरिसकेको निष्कर्ष निकाल्न हतार हुन्छ।
विशेषगरी बजारले २०० दिने मुभिङ एभरेज रेखा आसपास कस्तो प्रतिक्रिया दिन्छ त्यसैमा आगामी दिशा निर्धारण हुनेछ।