उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनपछि मुलुकभर अत्यावश्यक वस्तुहरु आपूर्ति व्यवस्था सुचारु राख्न आग्रह गरेको छ।
मङ्गलबार मन्त्रालयले विज्ञप्ती जारी गरी आवश्यकताअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट मोबाइल भ्यानहरूमार्फत् खाद्यवस्तु बोकेर घुम्ती पसल संचालन गर्ने जानकारी दिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित पसलहरू यथावत् सञ्चालन गरिने समेत बताइएको छ।
यससँगै खाद्यवस्तु (तरकारी, फलफूल, दूध, पानी समेत), औषधि र औषधिजन्य पदार्थ तथा खाना पकाउने ग्यास (एलपीजी) बिक्री वितरण हुने पसल तथा बिक्री कक्षहरू नियमित संचालन गर्न अनुरोध गरिएको छ।
यी पसलहरूमा काम गर्ने सबैले अनिवार्य रूपमा मास्क लगाउने र समयसमयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्नुपर्ने बताइएको छ।
उपभोग्य सामाग्री (औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा औषधि र खाद्यवस्तुका कच्चापदार्थ) र पेट्रोलियम पदार्थ (खाना पकाउने ग्यास समेत) ढुवानी गर्ने यातायातका साधन यथावत् संचालन गर्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ। ढुवानीकर्ता एवं बिक्रेता तथा वितरकले ढुवानी मजदूरको व्यवस्था गर्नुपनि आग्रह गरिएको छ।
खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्रीकक्ष राखी बिक्री वितरण गर्नुपर्ने बताउँदै मन्त्रालयले ठूला बिक्रेता (भाटभटेनी सुपरमार्केट, बिग मार्ट, सेलवेज, सेल्सबेरी जस्ता) हरूले आफ्नो बिक्री कक्षबाट नियमित बिक्री गर्नुपर्ने बताएको छ। साथै आफ्ना ग्राहकहरूलाई उनीहरूकै ठेगानामा डेलिभरी गर्ने व्यवस्था समेत गर्नुपर्नेछ।
प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी अति आवश्यक स्थानमा सीमित संख्यामा पेट्रोल पम्पहरू सञ्चालन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
नेपाल आयल निगमले आफ्ना डिपोहरूमा सीमित संख्यामा कर्मचारी राखी पेट्रोलियम पदार्थको नियमित आपूर्ति गर्नुपर्ने मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ।
उपभोग्य सामाग्री, औषधि तथा औषधिजन्य पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी गर्ने, कालोबजारी गर्ने र अवाञ्छित फाइदा लिनलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्रालयले बताएको छ।