केही दिनअघि मोरङको सुन्दरहरैंचामा देखिएको कुखुरामा लाग्ने संक्रामक रोग बर्डफ्लू अन्यत्र पनि फैलिन थालेको छ।
मोरङको सुन्दरहरैंचा र उर्लाबारीपछि झापाका कुखुरामा पुष्टि भएको बर्डफ्लू संक्रमण विराटनगरमा पनि देखिएको छ।
तीन दिनअघि मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा संक्रमण देखिएपछि झापाका दमक र झापा बजार क्षेत्रका फार्महरूमा पनि कुखुरामा यो रोग पुष्टि भएको छ।
दमक नगरपालिका–१० मा सञ्चालित एक कुखुरा फार्ममा घातक प्रकृतिको बर्ड फ्लू भेटिएपछि त्रास फैलिएको छ।
फार्ममा एकाएक कुखुरा मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो।
प्रारम्भीक परीक्षण विराटनगरमा गरिएको नमूना थप पुष्टि गर्न काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो।
परीक्षणपछि संक्रमण पुष्टि भएसँगै सम्बन्धित निकाय सक्रिय भएका छन्।
कोशी प्रदेश सरकारको र्यापिड रेस्पोन्स टिम प्रभावित क्षेत्रमा खटिएको छ। टोलीले संक्रमित फार्मको दायरा निर्धारण गर्दै कति कुखुरा छन्, कति मरे र जोखिमको अवस्था कस्तो छ भन्ने विषयमा तथ्य संकलन गरिरहेको प्रदेश कृषि मन्त्रालयले जानकारी दिएको छ।
झापाको झापा गाउँपालिका–७ मा रहेको कुखुरा फार्ममा पनि रोग पुष्टि भएका कुखुरा भेटिएका छन्। मोरङको विराटनगर क्षेत्रमा पनि संक्रमण पुष्टि भएको छ।
मोरङका मात्रै पाँचवटा पोल्ट्री फार्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटिएको छ। विराटनगर महानगरपालिका–४ मा रहेको एक फार्ममा आइतबार संक्रमण पुष्टि भएसँगै प्रभावित स्थानको संख्या बढेको हो।
यसअघि सुन्दरहरैंचा, उर्लाबारी र कटहरीका विभिन्न फार्ममा रोग देखिइसकेको थियो। संक्रमण फैलावट नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावित क्षेत्रहरूमा कडा कदम चालिरहेका छन्।
संक्रमित फार्मका कुखुरा अण्डा, दाना र प्रयोगमा आएका सामग्रीसमेत नष्ट गरिने मन्त्रालयको भनाइ छ।